बंगबन्धु कपमा सेमिफाइनल सम्भावना कति ?

273
  •  
  •  
  •  

Bangabandhu_Gold_Cup_Logoकाठमाडौँ, १ माघ(ओएनएस) : बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले आज शुक्रबार आयोजक बंगलादेशको सामना गर्दैछ । आजको खेलमा नेपालले बंगलादेशलाई पराजित गर्न सके नेपाल समूह विजेताका रूपमा सेमिफाइनल प्रवेश गर्नेछ ।

नेपालले अहिलेसम्म बंगलादेशसँग खेलेका ५ वटा खेलमध्ये नेपालले २ वटा खेलमा जित हासिल गरेको छ भने १ खेलमा बराबरी र दुई खेलमा पराजय बेहोरेको छ । २०११ मा दिल्लीमा भएको साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई पराजित गरेको थियो भने २०१३ मा काठमाडौंमा भएको मैत्रीपूर्ण खेलमा बराबरी खेलेका थिए । त्यस्तै २०१३ मा काठमाडौंमा भएको च्यालेन्ज कप छनोटको खेलमा बंगलादेशले नेपाललाई पराजित गरेको थियो । त्यस्तै काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई पराजित गरेको थियो भने २०१५ मा ढाकामा भएको मैत्रीपूर्ण खेलमा नेपाल एक शून्यले पराजित भएको थियो ।

आजको पहिलो खेलमा मलेसियन सुपरलिगको क्लब फेन्डा युनाइटेड र श्रीलंकाबीच हुनेछ । यी दुईबीचको नतिजाले पनि समूहको समीकरण तय गर्नसक्छ ।

के छ नेपाल सेमिफाईनल प्रवेशको समिकरण ?
सेमिफाइनलमा प्रवेश गर्नका लागि आजको खेलमा नेपालले बंगलादेशमाथि जित हासिल गर्नुपर्नेछ । आजको खेलमा जित हासिल गर्न सके नेपाल सोझै समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गर्नेछ भने बराबरी खेले नेपालले फेल्डा युनाइटेड र श्रीलंकाबीचको खेलमा निर्भर रहने छ । फेल्डा र श्रीलंकाबीच पहिले खेल हुने हुनाले नेपालले सेमिफाइनल प्रवेशका लागि बराबरी खेल्नुपर्ने या बंगलादेशलाई पराजित गर्नै पर्ने बाध्यता रहने सम्बन्धमा पनि प्रष्ट हुनेछ ।

आजको खेलमा श्रीलंकाले फेल्डालाई पराजित गरे नेपालको सेमिफाइनल यात्रा पक्का हुनेछ र समूह विजेता भएर सेमिफाइनल प्रवेश गर्नकालागि बंगलादेशलाई पराजित गर्नुपर्नेछ । यदी नेपालले बराबरी खेले या पराजित भए नेपाल समूह उपविजेताको रूपमा सेमिफाइनलको यात्रा तय गर्नेछ ।

यस्तै, फेल्डाले श्रीलंकासँग बराबरी खेलेपनि नेपालको सेमिफाइनल यात्रा पक्का हुनेछ ।

तर, फेल्डाले श्रीलंकालाई पराजित गरेको खण्डमा नेपालले बंगलादेशलाई पराजित गर्नैपर्ने हुन्छ । श्रीलंकालाई फेल्डाले पराजित गर्न सके फेल्डाको ५ अंक हुन्छ । नेपालको मात्र ४ अंक छ । नेपालले बंगलादेशसँग बराबरी खेलेको अवस्थामा पनि नेपालको ५ अंक त हुन्छ तर, गोलअन्तरका हिसाबले नेपालको सम्भावना कमजोर हुन्छ । यसकारण फेल्डाले जित हासिल गरेको खण्डमा नेपालले बंगलादेशलाई पराजित गर्नै पर्ने हुन्छ ।


  •  
  •  
  •