काठमाडौं १९ असोज ।
मुलुकमा विगत ५० दिन भएका बन्द, हड्ताल र भारत सरकारको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएपछि सबभन्दा बढी मार खेपेको यातायात क्षेत्रले यो अवधिमा करिब १२ अर्ब रूपैंयाभन्दा माथि गुमाएको छ । टिकापुर घटनादेखि भारतको अघोषित नाकाबन्दीसम्म आइपुग्दा यातायात क्षेत्र अस्तव्यस्त भएको छ । ‘पहिले बन्द, हड्ताल र पछि इन्धन अभावका कारण हामीले ५० दिनयता सोमबारसम्म करिब १२ अर्ब रूपैंयाभन्दा बढी घाटा व्यहोरिसकेका छौं,’ मुलुकको सम्पूर्ण यातायात क्षेत्रलाई हेर्ने संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दाबी गरे ।
इन्धन अभाव भएपछि सडकमा यात्रुवाहक र मालवाहक सवारी साधन साधारण दिनभन्दा २० प्रतिशतभन्दा पनि कम गुड्न थालेका छन् । यातायात व्यवस्था विभागका अनुसार मुलुकमा हाल करिब १८ लाख सवारीसाधन छन् । त्यसमध्ये मालवहाक र यात्रुवहाक गरि करिब ६ लाख सवारीसाधन छन् । त्यसमा मालवाहक करिब ७० हजार र बाँकि यात्रुवाहक हुन् । करिब ११ लाख सवारीसाधन भने नीजि गाडी र मोटरसाइकल हुन् ।
‘हामीले संचालन गर्ने यात्रुवाहक र मालवाहक गाडीमा दिनको औसतमा करिब २५ करोड रूपैंया घाटा लागेको छ,’ महासचिव सिटौलाले भने । उनले सरकारी पक्षबाट व्यवसायीले गरेको गलत काममा मात्र नभई गाह्रो पर्दा सहयोगको समेत अपेक्षा गरिएको बताए । उनले गुनासो गरे,’तर हामीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले मुलुकको यातायात क्षेत्रमा लामो समय संकट पर्दा समेत एक पटक बोलाएर छलफल गरेको छैन ।’ गृह मन्त्रालयले सुरक्षा क्षेत्रमा सहयोग गरेको उनले बताए ।
बन्द, हड्ताल र इन्धन नभएर गाडी थन्किदा व्यवसायीलाई बैंकको किस्ता तिर्न गाह्रो भएको सिटौलाले गुनासो गरे । ‘हामीले यातायात मन्त्रालय मार्फत नै आर्थिक समस्याका बारेमा सरकार समक्ष किस्ता मिनाहाको लागि पहल गर्ने तयारी गरेका छौं,’ उनले भने,’अर्थ मन्त्रालय र राष्ट्र बैंकले यस्तो स्थितीलाई बुझ्नु पर्छ ।’
लामो समय सवारी साधन चल्न नसक्दा काम गर्ने चालक र सहचालकलाई तलब-भत्ता दिन गाह्रो भएको बताए । उनले भने,’दैनिक गाडीमा काम गरेर परिवार पाल्नेलाइ गाह्रो भएको छ । सरकारी पक्षलाई यसलाई हेरिदिनु पर्छ ।’ मुलुकको स्थिती यस्तै रहिरहे यातायात क्षेत्र नै धरासायी हुने महासचिव सिटौलाको निचोड थियो ।
संकटको बेलामा मुलुकको यातायात क्षेत्रलाई व्यवस्थापन गर्नु पर्ने यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ भने एक साता अघिदेखि चीन भ्रमणमा छन् । मन्त्रालयको तर्फबाट पनि यातायातको संख्या सडकमा कम हुदा त्यसलाई व्यवस्थापन गर्ने योजना बाहिर ल्याएर ल्याउन सकेको छैन ।
दसैंको मुखमा बन्द, हड्ताल र इन्धन अभावका यातायात क्षेत्र अस्तव्यस्त भएपछि अब कसरी व्यवस्थापन गर्ने भन्ने चुनौति बढेको छ । ‘यसले गर्दा दसैंमा कसरी अघि बढ्ने भन्ने चुनौति बढेको छ,’ विभागका निर्देशक बसन्त अधिकारीले भने ।
कान्तिपुरबाट