काठमाडौं, २० भदौ (ओएनएस) : बन्दका कारण तराई मधेसका जिल्लामा जनजीवन नै ठप्प भएको छ । घर नजिकको खेतीपाती बाहेक सबै काम प्रभावित भएको छ । यातायातका साधन नचल्दा आवातजावत गर्न समस्या भएको छ । अझै पनि केही मान्छे हप्ता दश दिनदेखि बाटोमा अलपत्र परेका छन् । हरेक दिन बसपार्क पुग्ने र घर फर्किने दैनिकी बनेको प्रहरीले जनाएको छ । मधेसवादी दल र थारू संघर्ष समितिले तीनहप्ता देखि बन्द गरिरहेको छ ।
पूर्वमा खुल्यो
पूर्वी नेपालका जिल्लामा भने बन्द फिर्ता भएपछि आजदेखि गाडी चल्न थालेका छन् ।
सङ्घीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको अनिश्चितकालीन पूर्व बन्द फिर्ता भएपछि यातायातका साधन हिजोबाट चल्न थालेका छन् । तर, पहिरो पन्छाउन नसक्दा ताप्लेजुङ भित्रने तथा बाहिरिने सवारीसाधन भने सञ्चालनमा आउन सकेको छैन् । लिम्बूवानको बन्द खुलेपछि पाँचथर, इलाम र झापाबाट ताप्लेजुङ भित्रने सवारीसाधन पहिरोका कारण बीच बाटोमै रोकिएका छन् ।
पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडकखण्ड आजदेखि सञ्चालनमा आउने भएको छ ।
पूर्वी नेपालमा बन्द खुलेपनि तराई मधेसका जिल्लामा बन्द कायम नै छ । बन्दले जनजीवन प्रभावित भएको छ । गाडी नचल्दा यात्रुहरु बिच बाटोमा नै अलपत्र परेका छन् । यसैबीच बाग्लुङ बन्द पनि फिर्ता भएको छ । दलहरूबीच हिजो भएको सहमतिमा बाग्लुङ जिल्लालाई नटुक्र्याउने सहमति भएपछि बाग्लुङका राजनीतिक दलले गराएको बन्द आजदेखि फिर्ता भएको हो ।
कैलालीको टीकापुर र वीरगन्जमा कफ्र्यु केही खुकुलो बनाइएको छ । टीकापुरमा चार घण्टा र वीरगञ्जमा बिहान ९ देखि दिउँसो २ बजेसम्म कर्फ्यु हटाइएको छ । कैलालीमा बन्द विद्यालय आजदेखि खुलेका छन् ।