अखिल क्रान्तिकारीले गरेको विद्यालय वन्द कार्यक्रम फिर्ता

126
  •  
  •  
  •  

काठमाडौं ४ असोज (ओएनएस) :  नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीले गरेको विद्यालय वन्द फिर्ता लिएको छ । विद्यालयले मनपरी शुल्क वृद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले नीजि विद्यालय वन्द गरेको थियो ।

हिजो भएको वार्तामा शिक्षा विभागसहित, प्याब्सन,एनप्याब्सन, अभिभावक संघ संगठनहरुसँग भएपछि विद्यालय वन्दको कार्यक्रम फिर्ता लिईएको अखिल क्रान्तिकारीका अध्यक्ष सरद रसाईलीले शनिबार निकालेको विज्ञप्तिमा उल्लेख छ ।

सहमति अनुसार विद्यालयहरुले  लिएको शुल्कदर आउँदो कात्तिक मसान्तभित्रमा शिक्षा कार्यालय समक्ष पेश गरी कार्यालयले बुलेटिन मार्फत सार्वजनिक गर्ने,बृद्धि गरिएको शुल्क कात्तिक मसान्तसम्म फिर्ता गरिसक्ने, समयभित्र शुल्क फिर्ता नगरे कानुन अनुसार २५ हजार रुपैयाँ जरिवाना गर्ने र तीन महिनाभित्र पनि शुल्क फिर्ता वा समायोजन नगरेमा विद्यालयको अनुमति समेत खारेज गरिने छ ।

सहमति भएपछि भोलीसम्म गरिएको विद्यालय वन्द कार्यक्रम फिर्ता लिईएको अखिल क्रान्तिकारीका अध्यक्ष रसाईलीले निकालेको विज्ञप्तिमा उल्लेख छ । विश्वविद्यालय र सिटीइभिटीमा भईरहेको तालावन्दी र आन्दोलन भने जारी रहने विज्ञप्तिमा भनिएको छ ।


  •  
  •  
  •