विप्लव समूहको बन्दका कारण देशभरको जनजीवन प्रभावित

उपत्यकामा आंशिक प्रभाव
263
  •  
  •  
  •  

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आब्हान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।

काठमाडौं उपत्यकामा भने बन्दको असर आंशिक परेको छ ।  भाडाका सवारी साधन सामान्य दिनहरु भन्दा कम चलेका छन् । स्कुल तथा क्याम्पसहरु भने बन्द भएका छन् ।

उपत्यका भित्रने र बाहिरिने सवारी साधनमा पनि कमि आएको प्रहरीले जनाएको छ । बन्दमा कुनै अप्रिय घटना नहोस भनेर मुख्य चोकहरुमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

देशका मुख्य राजमार्गमा भने भाडाका सवारी साधन चलेका छैनन् । बन्द आब्हानका कारण, विराटनगर, इटहरी, वीरगञ्ज, हेटौडा, चितवन, पोखरा, बुटवल,दाङ, धनगढी, महेन्द्रनगर लगायतका स्थानको पनि जनजीवन प्रभावित भएको छ ।

बन्दका क्रममा केही ठाँउमा बिस्फोट भएको प्रहरीले जनाएको छ । सर्लाहीमा पार्टी कार्यकर्ताको हत्या भएको विरोधमा चन्द नेतृत्वको नेकपाले बन्द आब्हान गरेको हो ।

जावलाखेलमा प्रेसर कुकर बम भेटियो
ललितपुरको जावलाखेलमा प्रेसर कुकर बम भेटिएको छ ।  मंगलबार बिहान जावलाखेल खेल मैदान अगाडी होटलको सटरमा भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

प्रहरीले दिएको जानकारीअनुसार जावलाखेलमा झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनालाई खबर गरिएको थियो । बम विप्लव समूहले नै राखेको प्रहरीको दाबी छ ।
 

लमजुङका जिल्ला नेता पोखरामा पक्राउ

पोखरामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका लमजुङका जिल्ला नेता पक्राउ परेका छन् ।

लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए ।

यसैबीच मंगलबार बिहान पोखरा महानगरपालिका–१४ चाउथेमा फेला परेको शंकास्पद वस्तुलाई डिस्पोज गरिएको प्रहरीले जनाएको छ । सोमबार साँझ पनि पोखरा–४ सिद्धार्थचोकस्थित तरकारी बजार नजिक शंकास्पद वस्तु फेला परेको थियो ।


  •  
  •  
  •