३० दलको बन्दले सर्वसाधारणलाई सास्ती

391
  •  
  •  
  •  

रुपन्देही, पुस २८ (ओएनएस) : एमाओवादी नेतृत्वको विपक्षी ३० दलीय मोर्चाले आह्वान गरेको मधेस बन्दको कारण बिहानैबाट  जनजीवन नराम्ररी प्रभावित भएको छ ।

बन्दको कारण यस क्षेत्रबाट बाहिर जाने र आउने सवारीका साधानहरु पुर्ण रुपमा बन्द छन् । कलकारखाना, शिक्षण संंस्था बजार बन्द छन् भने मेडिकल हल पनि खुलेका छैनन् । जिल्लामा शान्ति सुरक्षाको लागी भन्दै ब्यापक प्रहरी परिचालन भएका छन् ।

एमाओबादीका जिल्ला सेक्रेटरी यज्ञ पोखरेलले बन्द संबिधान समयमै बनाउन दवाबको लागी भएको बताए ।

बन्दमा प्रेस, एम्बुलेन्स, कुटनितिक नियोग, दुध बोक्ने सवारी लगायत अत्यावश्यक सवारी भने चलेका छन् ।

यता बन्दका कारण वीरगन्जसहित आसपासको जनजीवन प्रभावित भएको छ भने सर्वसाधारणले सास्ती झेल्नु परेको छ ।

बन्दका कारण यहाँबाट बाहिरिने सबै लामो दूरीका सवारी साधन ठप्प भएका छन् भने छोटो दूरीका सवारीसाधनमा पनि सञ्चालनमा आउन नसक्दा काम विशेषले हिँडेका यात्रुको बिचल्ली भएको छ । बन्दका कारण शैक्षिक संस्था र उद्योगधन्दा पनि ठप्प भएका छन् ।

शैक्षिक संस्था बन्द हुँदा विद्यार्थी प्रत्यक्ष मारमा परेको अभिभावकले बताएका छन् । उद्योगधन्दा बन्द हुँदा आफूहरूलाई करोडौँको घाटा लाग्ने वीरगन्जका उद्योगी अशोक वैद्यले बताए । बन्द भएको थाहा नपाएर भारतबाट नेपाल छिरेका यात्रु तथा पर्यटकको पनि सीमा क्षेत्रमा बिचल्ली भएको छ ।

बन्दको असर विराटनगरमा पनि परेको छ । यस क्षेत्रका झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहा जिल्लास्थित पूर्व–पश्चिम राजमार्गका साथै सहायक मार्गमा बिहानैदेखि यात्रुवाहक बसलगायत निजी सवारी पनि ठप्प भएका छन् । बन्दको प्रभाव विद्यालय र उद्योगमा पनि परेको छ ।

यता सुरदुरपश्चिमको पनि जनजीवन नराम्ररी प्रभावित भएको छ । बिहानैदेखि जिल्ला सदरमुकाम महेन्द्रनगरस्थित बसपार्क बाट सञ्चालन हुने लामो र छोटो दुरीका यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । मुख्य बजार, विद्यालय, क्याम्पस समेत बन्द रहेका छन् ।

भारतमा मजदुरी गरी माघेसङ्क्रान्ति मनाउन घर जानका लागि आएका तीन दर्जनभन्दा बढी पहाडी क्षेत्रका यात्रु महेन्द्रनगर बस पार्कमै अलपत्र परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पूर्व पश्चिम राजमार्ग र बजार क्षेत्रमा प्रहरीको गस्ती टोलीलाई प्रभावकारी रूपमा परिचालन गरिएको छ ।


  •  
  •  
  •