बन्दको क्रममा ५५ पक्राउ, २३ सवारी साधनमा क्षति

182
  •  
  •  
  •  

काठमाडौं, २४ चैत (ओएनएस) : एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आह्वान गरेको तीन दिने आम हड्तालको पहिलो दिन मंगलबार देशभरमा ५५ जना बन्दकर्ता पक्राउ परेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमले दिएको जानकारी अनुसार राजधानीमा २८ जना बन्दकर्ता पक्राउ परेका छन् । ‘बन्द गराउदै हिडेका ५५ जनालाई प्रहरीले देशभरबाट पक्राउ गरेको छ । ’ प्रवक्ता  सिंहले ओएनएससँग भने, ‘पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान गरिरहेका छौ । ’

मंगलबार बन्दको क्रममा देशभर २३ वटा सवारी साधनमा तोडफोड भई क्षती पुगेको छ । बन्दकोक्रममा काठमाडौंमा २ ट्याक्सी, १ मोटरसाइकल, सरकारीसमेत ४ जिप गरी जम्मा ७ वटा सवारी साधन र काठमाडौं बाहिर १६ गरी २३ गाडीमा आगजनी तथा तोडफोड गर्दा क्षती पुगेको हो । यीमध्ये प्रदर्शनकारीले काठमाडौंमा १ मोटरसाइकल र १ ट्याक्सी, सुर्खेत र रुपन्देहीमा १/१ मोटरसाइकलमा आगजनी गरेका थिए । 

सो क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच काठमाडौं भृकुटीमण्डपमा झडप हुँदा ५ प्रदर्शनकारी सामान्य घाइते भएका छन् भने घाइते १ प्रहरीको मोडल अस्पतालमा उपचार भइरहेको छ । यसैगरी झापा मेची नगरपालिका–१२ स्थित मेची नगरपालिकाको कार्यालयमा बन्दकर्ताहरु प्रवेश गरी शिशा, टेबल र कुर्ची तोडफोड गरी करीव १ लाख रुपैयाँ बराबरको क्षति पु-याएका छन् ।

साथै बन्दको क्रममा अवरोध गर्ने, तोडफोडमा संलग्न तथा उछृङखल गतिबिधि गर्ने काठमाडौंमा २८ जना र काठमाडौं बाहिरका विभिन्न जिल्लाहरुबाट २७ जना गरी ५५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिजुली बजारमा भएको झडपमा केहि प्रदर्शनकारी सामान्य घाइते भएको बमले बताए । बमका अनुसार प्रहरीलाई ढुंगा प्रहार गर्दै अवरोध गरेपछि केहि सेल अश्रु ग्यास प्रहार भएको थियो ।

यसअघि मोर्चाले विहान ५ देखि साँझ ५ सम्म बन्दको कार्यक्रम आयोजना गरेकोले बन्द खुलेको छ ।

बालकुमारीमा ट्याक्सीमा आगजनी, बिजुली बजारमा झडप
बन्दकर्ताले विहान बालकुमारीमा ट्याक्सीमा आगजनी गरे । यात्रु बनेर आएका बन्दकर्ताले विहानै ट्याक्सीमा आगजनी गरेका थिए । यस्तैे विजुली बजारमा प्रहरी र प्रदर्शनकारीबीच झडप भयो । झडपको क्रममा चार प्रदर्शनकारी घाइते भए । प्रहरीले बन्दकर्तालाई पक्राउ गरेर लाने क्रममा झडप भएको थियो ।

बन्दकार्तालाई भ्यानमा हालेर लाने क्रममा बिजुली बजारमा प्रदर्शकारीले प्रहरीलाई रोकेका थिए । उनीहरुले प्रहरीलाई ढुंगा प्रहार गर्दै स्थिति तनावग्रस्त बनाएका थिए । त्यसपछि प्रहरीले अश्रुग्यास प्रहार गर्दै बन्दकर्तालाई हटाउने क्रममा चार जना बन्दकर्ता घाइते भएका हुन् ।

भैरहवमा मोटरसाइकलमा आगजनी
बन्दका कारण भैरहवामा उद्योग, कलकारखाना, बजार, यातायात, शैक्षिक संस्था पूर्णरुपमा ठप्प रहे । बन्दकर्ताहरुले बुद्धचोकमा जम्मा भइ बन्द गराउदै हिडेका थिए । बन्दकर्ताहरुले भैरहवाको बर्मेली टोलमा भारतीय नम्बर प्लेटको युपी ५६ जे २७०७ नम्बरको मोटरसाइकलमा आगजनी गरेका थिए ।

सुदुरपश्चिमा कम प्रभाव
बन्दको प्रभाव सुदूरपश्चिममा कम देखिएको छ । धनगढीको मूल बजार फाट्टफुट्ट खुले भने भित्रि बजार पूर्णरुपमा खुला रहे । विद्यालय संचालनमा आए । बन्दमा लामो दूरीका कारण सवारी साधन भने ठप्प रहे । कलकारखाना पनि भित्रि रुपमा संचालनमा रहे । डडेल्धुरा, दीपायल बजार खुलेका छन् ।

महेत्तरीमा बसमा तोडफोड

महोत्तरीको जलेश्वरमा बन्दकर्ताले एक यात्रुवाहक बसमा तोडफोड गरे । समसीबाट जलेश्वर आउँदै गरेको ज.१.ख. ६५९ नम्बरको मुन्ना ट्राभल्स बसमा बन्दकर्ताले तोडफोड गरेका थिए । तोडफोडबाट बसको सिसाहरु फुटेका छन् । बसमा सवार पाँच जना यात्रुलाई सकुशल उद्दार गरिएको थियो । बन्दको क्रममा महोत्तरीको जलेश्वर, बर्दिवास, गौशाला, मटिहानी, रामगोपालपुरसहितका बजारहरु ठप्प छन् ।

सुर्खेतमा मोटरसाईकलमा आगजनी
बन्दको अवज्ञा गरेको भन्दै सुर्खेतको वीरेन्द्रनगरमा एउटा मोटरसाईकललाई बन्दकर्ताले आगजती गरे । भे ४ प ४४३८ नम्वरको मोटरसाईकल महिला प्रशिक्षण कार्यालय अगाडी आगजनी गरेका थिए । आगजनीबाट मोटरसाईकल पुर्ण रुपमा क्षति भयो । सवारीसाधन तोडफोड गर्ने उमेश शाही र दक्त प्रसाद उपाध्ययाय लाई प्रहरीले पक्राउ गर्याे ।


  •  
  •  
  •