नाकाबन्दी लगाउनु दुःखद : महासचिव मुन

152
  •  
  •  
  •  

Ban-Ki-Moonकाठमाडौँ, २७ कात्तिक(ओएनएस) : राष्ट्रसंघीय महासचिव वान कि मुनले नेपालमाथि भारतले नाकाबन्दी लगाउनु दुःखपूर्ण भएको बताएका छन् । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग बिहीबार अपरान्ह राष्ट्रसंघीय मुख्यालय न्यूयोर्कमा भएको भेटमा महासचिव मुनले नाकाबन्दीपछिको नेपालको अवस्थाबारे राष्ट्रसंघले ‘फलोअप’ गरिरहेको बताएका छन् ।

उनले नाकाबन्दीका कारण नेपालको स्वतन्त्र पारवहनको अधिकार हनन भएको र मानवीय संकट उत्पन्न भएको प्रति राष्ट्रसंघ चिन्तित रहेको बताएका छन् । महासचिव मुनले यो संकट समाधानका लागि आफुले सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् ।

भेटवार्तामा सहभागी पूर्व प्रधानमन्त्री कोइरालाका परराष्ट्र मामिला सम्बन्धी पूर्व सल्लाहकार डा. दिनेश भट्टराईले भने, ‘महासचिव मुनले नेपालको संकट समाधानका लागि आफू लागिपरहेको बताउनु भयो । उहाँ नाकाबन्दीबाट सिर्जित समस्याप्रति चिन्तित हुनुहुन्थ्यो ।’

भेटका क्रममा कोइरालाले नाकाबन्दीले कुनै पनि पक्षलाई हित नगर्ने बताएका छन् । काँगेस सभापति कोइरालाले मुनसमक्ष भारतसँगको नेपाल सम्बन्ध आफ्नो सरकारको सबैभन्दा महत्वपूर्ण प्राथमिकता रहेको स्मरण गरेका थिए । कोइरालाले भारत नेपालको सबैभन्दा महत्वपूर्ण र मुल्यवान छिमेकी रहेको उल्लेख गरेका थिए ।

महासचिव मुनले प्रतिपक्षको रुपमा कोइराला नेतृत्वको भूमिका आगामी दिनमा महत्वपूर्ण हुने विश्वास ब्यक्त गरेका थिए भने कोइरालाले सरकारको काम कारवाहीको मूल्याङकनको आधारमा सर्मथन र विरोध गरिने बताएका थिए ।

भेटमा महासचिव मुनले संविधान जारी गर्न सफल भएकोमा सभापति कोइरालालाई बधाई दिँदै स्वास्थ्य अबस्थाबारे पनि जानकारी लिएका थिए ।


  •  
  •  
  •