रोजगारी सिर्जना गर्न वन क्षेत्रको भूमिका महत्वपूर्ण

294
  •  
  •  
  •  

काठमाडौं । प्राकृतिक स्रोत साधनको दिगो उपयोग गरेर मात्रै देशमा रोजगारी सिर्जना गरी समृद्धि हासिल गर्न सकिने एक कार्यक्रमका सहभागिले जोड दिएका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघको २४ औं स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरुले पैसा र अनुदान वितरण गरेर मात्र रोजगारी सिर्जना गर्न नसकिने बताएका हुन् ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका पूर्व अध्यक्ष घनश्याम पाण्डेले देशमा रोजगारमैत्री नीतिको खाँचो रहेको बताए । उनले रोजगारमैत्री नीतिहरू नबनेसम्म रोजगारीका अवसर नखुल्ने उनको भनाइ थियो । वन क्षेत्रबाट वार्षिक ५५ अर्ब रुपैयाँको रोजगारी सिर्जना गर्न सकिने बताउँदै उनले यसमा सरकारको ध्यान जानुपर्ने बताए ।

कार्यक्रममा हेल्भेटास नेपालका डा. भरत पोखरेलले दिगो वन व्यवस्थापन मार्फत वार्षिक १५ करोड क्युफिट काठ निर्यात गर्न सकिने बताए । उनले यसका लागि सरकारले ध्यान जान नसकेको भन्दै वन क्षेत्रको उपयोग नगर्दा दैनिक १३ करोड खेर गइरहेको बताए ।

सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले सामुदायिक वन उपभोक्ता महासंघ वनबाट रोजगारी सिर्जना गर्ने विषयमा सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताइन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्राकृतिक स्रोतसाधन हेर्ने गहना मात्र नभएको भन्दै मानव जातिको हित र उन्नतिका लागि प्रयोग गर्नुपर्नेमा जोड दिए ।
देशमा वन संरक्षणको आवश्यकता रहेका उनले बताए । कार्यक्रममा महासंघका सचिव ठाकुर भण्डारीले कार्यपत्र प्रस्तुत गरेको थिए ।


  •  
  •  
  •