काठमाडौ, १ पुष(ओएनएस) : उपप्रधान तथा गृह मन्त्री वामदेव गौतमले सवारी नियम उल्लंघन गर्नेलाई जेल हाल्ने प्रस्ताव गरेका छन् । उनले ऐन संशोधन गरेर नियम मिच्नेलाई जेल हाल्नुपर्ने प्रस्ताव गरेका हुन् ।
व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको आजको बैठकमा मन्त्री गौतमले जरिवाना पनि निकै कम भएको र नयाँ कानुन ल्याएर जरिवाना र सजाय थप गर्नुपर्ने भन्दै नयाँ कानुनको प्रस्ताव गरेका छन् ।
उनले नयाँ कानुनमा पहिलो पटक सवारी सञ्चालन नियम उल्लंघन गर्नेलाई एक हजार जरिवान गर्ने, दोस्रो पटक २ हजार र तेस्रो पटक गरे जेल हाल्नुपर्ने प्रस्ताव गरेका छन् ।
यस्तै, उनले ट्राफिक व्यवस्थालाई थप सुदृढ र भ्रष्टाचारबाट मुक्त गर्नका लागि सवारी साधनबाट लिइने जरिवानाको आधा रकम कारवाही गर्ने ट्राफिक वा प्रहरीलाई दिने, २५ प्रतिशत रकम ट्राफिक व्यवस्थापनमा खर्च गर्ने र बाँकी २५ प्रतिशत राजश्वमा जम्मा गर्ने प्रस्ताव गरेका छन् ।
समितिमा उनले प्रत्येक गाडीले यात्री जीवन बिमा गर्नुपर्ने भन्दै बिमा नगराउने गाडीलाई बन्द गर्नुपर्ने धारणा राखेका छन् ।