कतार पुगेर गृहमन्त्री गौतमले भने : द्वन्द्वकालका दोषीलाई कानुनको कठघरामा ल्याउँछौ

204
  •  
  •  
  •  

Bamdev.कतार, चैत ३० (ओएनएस) : उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले दण्डहीनतालाई अन्त्य गर्न नेपाल पूर्णप्रतिबद्ध रहेको बताएका छन् ।

कतारको राजधानी दोहामा भैरहेको ‘अपराध रोकथाम तथा फौजदारीन्याय’ विषयक संयुक्त राष्ट्रसङ्घीय १३ औँ महासभामा सोमबार गौतमले निपष्क्ष एवम् जवाफदेही फौजदारी न्याय प्रणालीका सिद्धान्तप्रति नेपाल प्रतिबद्ध रहेको बताएका हुन् ।

द्वन्द्वकालका मुद्दा छानबिन गर्न अन्तर्राष्ट्रिय कानुनको भावनाबमोजिम हालै सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठन गरिएको जानकारी दिँदै उपप्रधानमन्त्री गौतमले ती आयोगले दोषीलाई कानुनको कठघरामा ल्याउने र देशमा दिगो शान्ति र स्थायित्व कायम हुनेमा सरकार विश्वस्त रहेको गौतमको भनाई थियो ।

गौतमले नीतिगत योजना तथा कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै प्रभावकारी रुपमा आपराधिक गतिविधि नियन्त्रणमा सरकार लागेको बताए ।

दोहामा आइतबारदेखि सुरु भएको महासभालाई उनले अन्तरदेशीय अपराध हुन नदिन पारस्परिक कानुनी सहायता, प्रत्यर्पण, सङ्गठित अपराध नियन्त्रण तथा मुद्रा निर्मलीकरणसम्बन्धी कानुन कार्यान्वयन गरिएको बताए ।

नेपालको विद्यमान कानुन संशोधनका लागि दण्डसंहिता, फौजदारी कार्यविधि संहिता, फौजदारी कसुरमा सजाय निर्धारण नियमावली, दण्ड ऐन, केही नेपाल संशोधन ऐनलगायत विधेयक व्यवस्थापिका–संसद्मा पेस गरिएको जानकारी दिएए । विधेयकले परिवर्तित प्रवृत्ति र फौजदारी न्यायप्रणालीका आवश्यकता सम्बोधन गर्ने पनि बताए ।

जनसाधारणमा अपराध नियन्त्रण र फौजदारीन्यायबारे चेतना जागृत गर्न तथा शिक्षा प्रवाह गर्न नागरिक समाजसम्बन्धी सङ्घसङ्गठन, मानवअधिकार रक्षक र सञ्चार जगत्ले निर्वाह गरेको भूमिकाको नेपालले उच्च महत्व दिएको बताउँदै उपप्रधानमन्त्री गौतमले मानव प्रतिष्ठा तथा न्याय तथा कानुनी राज्य सुदृढ बनाउने प्रयासमा सरकार लागिपरेको स्पष्ट पारे ।

नेपालको फौजदारीन्याय प्रणाली स्वतन्त्र एवम् सक्षम रहेको बताउँदै उनले केही जिल्ला अदालतमा नमुनाका रुपमा गैरसैनिक र फौजदारी न्याय सम्दानका लागि बेग्लै न्यायधीशको व्यवस्था गरिएको तथा विस्तृत फौजदारी मुद्दा निर्देशिका निर्माण गरी कार्यान्वयन गरिएको जानकारी दिए ।

अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार नेपालले कानुनमा सर्वसाधारणको पहुँच प्रवद्र्धन तथा फौजदारी न्याय प्रणालीलाई उच्च प्राथमिकता दिएको बताउँदै उनले अपराधविहीन समाज निर्माण तथा जनताको जीवनस्तर उठाउने सुनिश्चितताका लागि एकीकृत प्रयास गरिएको पनि उनलेब ताए ।


  •  
  •  
  •