बामदेवको दुर्भाग्य : पार्टीलाई जिताए, आफू हारे

एमालेबाट हार्ने सबैभन्दा ठूला नेता
241
  •  
  •  
  •  

बर्दिया, २४ मंसिर (ओएनएस) : एमाले उपाध्यक्ष एवं पटकपटक उपप्रधानमन्त्री समेत भइसकेका बामपन्थी गठबन्धनका ‘हेभिवेट’ उम्मेदवार बामदेव गौतमले थकथकीपूर्ण पराजय बेहोरेका छन् ।

बाम गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका बामदेवले ४४ हजार मत प्राप्त गरेर पनि उनको पोल्टामा पराजय हात लागेको छ ।

बर्दिया क्षेत्र नं. १ बाट बामदेव कांग्रेसका संजयकुमार गौतमसँग पराजित भएका हुन् । ७ सय ५३ मतको अन्तरले उनी पराजित भएका हुन् ।

सिचाइँ मन्त्रीसमेत रहेका संजयले ४४ हजार ८२९ मत ल्याए भने वामदेवले ४४ हजार ७६ मत ल्याए ।

उपाध्ययक्ष गौतम एमाले र माओवादी गठबन्धनका सूत्रधारका रुपमा चिनिएका थिए । पार्टी एकता गर्ने सहमतिका साथ वाम गठबन्धन बनेकै कारण देशभरको जनमत प्रभावित भए पनि बामदेव आफ्नै निर्वाचन क्षेत्रमा भने पराजित भए ।

यो क्षेत्रमा नेकपा मालेका नरबहादुर बोहोराले २ हजार ३७२ मत ल्याए । यस्तै संघीय समाजवादीका काशीम अली सिद्धिकीले ६९७, नयाँ शक्तिका केशवराज पौडेलले ५४४ मत ल्याएका छन् ।


  •  
  •  
  •