दुई तिहाईबाट संविधानः गौतम

146
  •  
  •  
  •  

Bamdevरुपन्देही, २८ कार्तिक  (ओएनएस) : उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले राजनीतिक दलहरुबीच सहमति नभए संविधानसभाको दुई तिहाई बहुमतले संविधान जारी गरिने बताएका छन् ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको १५ औं साधारण सभा तथा नवौं अधिवेशनको शुक्रबार बुटवलमा उदघाटन गर्दै उपप्रधानमन्त्री गौतमले संविधानसभाको प्रक्रियामा नआउने राजीतिक दलले लोकतन्त्र नै नमानेको ठहर हुने भन्दै आफैले बनाएको संविधानको प्रक्रिया नमान्नेले निरंकुशता ल्याउन खोजेको पुष्टि हुने बताए ।

गौतमले निजी क्षेत्र, विभिन्न संघसंस्था र सरकारको लगानी जोड्दा यातायात क्षेत्रमा सबैभन्दा धेरै लगानी भएको र यो क्षेत्रले मुलुकको अर्थतन्त्रमा रक्तसञ्चारको काम गरेको बताए । उनले पछिल्लो समय सवारी दुर्घटनाका घटना बढेको उल्लेख गर्दै यसलाई रोक्ने गरी सडक ऐन संशोधन गर्न लागिएको जानकारी दिए । उनले माग पूरा नहुँदा हडतालमा उत्रने र अर्थतन्त्रमा ठूलो धक्का दिने प्रवृत्ति रहेको भन्दै ऐन नियम अनुसार व्यवसाय सञ्चालन गर्न यातायात व्यवसायीहरुलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाटले यातायात व्यवसायीलाई कारवाही गर्ने प्रावधान राखेर ऐन संशोधन गर्न लागिएको भन्दै त्यसो गरिए यातायात व्यवसायी सडकमा उत्रने चेतावनी दिए । कार्यक्रममा पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष गणेशप्रसाद पन्थले यातायात क्षेत्रका समस्याबारे अवगत गराएका थिए भने ।

यसैबीच उपप्रधान तथा गृहमन्त्री गौतमले शुक्रबार रुपन्देही व्यापार संघको साधारण सभाको उदघाटन गर्दै मुलुकलाई अस्तव्यस्त बनाउने चाहनेहरुले संविधान बनाउन अवरोध गरिरहेको बताए ।

 


  •  
  •  
  •