वामदेव विरुद्धको रिटमा आज पनि सुनुवाई हुँदै

129
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रियसभा सदस्य नियुक्त नेकपा उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री नबनाइयोस् भन्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको निवेदनको आज पनि सुनुवाई हुँदैछ।

गत बुधबार संवैधानिक इजलासमा सुरु भएको गौतमविरुद्धको रिट निवेदनको बहस नसकिएपछि आज पनि सुनुवाई निरन्तर हुने भएको हो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमको नियुक्ति बदर गर्न माग गर्दै असोज ५ गते रिट दायर गरेका थिए।

न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलासले ‘थप संवैधानिक नियुक्ति नदिन’ आदेश गर्दै बुधबार संवैधानिक इजलासमा थप सुनुवाई गर्न आदेश दिएको थियो।

बुधबार रिट निवेकदकका तर्फबाट त्रिपाठी, अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरि उप्रेतीलगायतले बहस गरेका थिए। गौतमको तर्फबाट महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले बहस गरेका थिए।

उनको पक्षमा समय अभावका कारण थप कानुन व्यवसायीले बहस गर्न नपाएपछि शुक्रबार पुनः सुनुवाईले निरन्तरता पाउने छ।

गौतमको तर्फबाट बहस गर्न पूर्व महान्यायाधीवक्ता युवराज संग्रौला, वरिष्ठ अधिवक्ताहरु रविनारायण खनाल, रमणकुमार श्रेष्ठलगायत ३० भन्दा बढी कानुन व्यवसायीले वकालतनामा दिएका छन्।

प्रतिनिधिसभा चुनावमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले असोज १ गते राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन्।

निवेदकले प्रतिनिधिसभामा पराजित भएको व्यक्ति मनोनितको कोटामा राष्ट्रियसभामा जानु संविधान, जनमत विपरीत भएको जिकिर गरेका छन्। जनमत, संविधानवाद्, लोकतान्त्रिक मूल्य मान्यता, नैतिक मूल्यका आधारमा नियुक्ति बदर हुनुपर्ने माग रिटमा गरिएको छ।


  •  
  •  
  •