वामदेवको मुद्दा ‘हेर्दाहर्दै’ मा

76
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रियसभा सदस्य नियुक्त नेकपा उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री नबनाइयोस् भन्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको बुधबार बसेको पूर्ण इजलासमा बहस नटुंगिएपछि हेर्दाहेर्दैमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणासहितको पाँच सदस्यीय संवैधानिक इजलासमा उक्त मुद्दाको आज पेसी चढेको थियो ।

विपक्षीमध्येका प्रतिवादी वामदेव गौतमका तर्फबाट बहस गर्न गएका कानुन व्यवसायीले आज बहस गर्न भ्याएनन् । तर, विपक्षीका तर्फबाट आज महान्यायाधिवक्ता कार्यालयका सरकारी वकिलले भने बहस टुंग्याएका छन् । सर्वोच्चस्रोतका अनुसार शुक्रबारको संवैधानिक इजलासमा उक्त मुद्दाको सुनुवाई हुनेछ ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रियसभा सचिवालय, नेकपा र सांसद गौतमलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेता गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने राष्ट्रपतिको गत भदौ २९ को निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दायर गरेका थिए । नेता गौतमलाई राष्ट्रियसभामा गरिएको मनोनयन असंवैधानिक भएको उल्लेख गर्दै सांसदका रुपमा कार्य गर्न नदिन र मन्त्रिमण्डलमा लैजाने कार्य रोक्नका लागि अन्तरिम आदेशको माग रिट निवेदनमा गरिएको छ ।


  •  
  •  
  •