काँग्रेस एमालले प्रक्रियामा गएर भएपनि माघ ८ गते संविधान दिन्छौ : गौतम

107
  •  
  •  
  •  

काठमाडौ, १५ असोज (ओएनएस) : कार्यवाहक प्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले अल्पमतमा रहेको पार्टी एमाओवादीले दुई तिहाइ बहुमत रहेका सत्तारुढ दलद्वय नेपाली काँग्रेस र एमालेलाइ संविधानसभा भन्दा बाहिरको विषय संसदमा उठाएर संसद् अवरुद्ध पारी खेलाउने प्रयास गरेको बताएका छन् । रिपोर्टर्स क्लबले बुधवार आयोजना गरेको साक्षात्कारमा गौतमले संविधानसभाबाहिर दलहरुबीच भएको

सहमतिलाई लिएर संसद् अवरोध गरेको प्रति आक्रोश व्यक्त गर्दै एमाओवादीले भनेजस्तो उच्चस्तरीय राजनीतिक संयन्त्र नभई शान्तिप्रक्रियालाई टुङ्ग्याउन सहयोग गर्ने गरी राजनीतिक समितिमात्र गठन गर्ने स्पष्ट पारे । साक्षात्कारमा गौतमले राजनीतिक समिति संविधानसभाको कामकारबाहीमा कुनै हस्तक्षेप नहुने गरी गठन गर्ने स्पष्ट पार्दै सत्तारुढ दल अधिक लचक भइसकेकोले अब एकरत्ति पनि लचक नहुने बताए ।

उनले भने– प्रचण्डलाई लगातार संयोजक बनाउन सकिँदैन, चक्रिय प्रणालीमा गएर आलोपालो रुपमा नेतृत्व गर्नेमा सहमती भएको छ, तर एमाओवादीले मानेको छैन, एमाओवादीको मोर्चाले संविधानको नियम, कानुन, अन्तरिम संविधानको मर्म र भावना विपरित तथा जनमतको अवमूल्यन गर्दै संसद अवरुद्ध गरिरहेको छ, यो कसैलाई सह्य छैन, हामीलाई पनि छैन ।उनले आगामी असोज २० गतेसम्म विवादित विषयहरुमा सहमति नभए प्रक्रियामा लगेर संविधान निर्माणप्रक्रियालाई अघि बढाउने स्पष्ट पार्दै नियमावलीले तय गरेको समयतालिकाअनुसार नै माघ ८ गतेभित्र संविधान निर्माण गर्ने दृढता व्यक्त गरे ।

गौतमले भने–‘‘अब माघ ८ गते संविधान आउनबाट कसैले रोक्न सक्तैन, हामी सकेसम्म अधिकतम सहमतिद्वारा संविधान जारी गर्न चाहन्छौं, यदि त्यसो भएन भने हामी प्रक्रियाबाटै भएपनि संविधान जारी गछौं, जो बाधक बन्छ, जनता उनीहरुको विपक्षमा उभिएर देखाइदिन्छन् ।’’गौतमले सबै जातिको प्रतिनिधित्व हुनेगरी काँग्रेस र एमाले बढीमा छदेखि सातवटा प्रदेश बनाउनेमा सहमत रहेको जानकारी दिंदै कुनै पनि हालतमा एकल जातीय पहिचानको आधारमा संघीयता नहुने स्पष्ट पारे । काँग्रेस र एमालेकोबिचमा संघियता र शासकीय स्वरुपमा सहमती बनिसकेको छ । उनले शासकीय स्वरुपमा संसद्बाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रपति रहने शासन व्यवस्था हुनुपर्नेमा जोड दिंदै मुलुकमा अस्थिरता हुननदिन दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने व्यवस्था गर्नुपर्ने बताए ।

समानुपातिक समावेशी निर्वाचन प्रणालीको पक्षमा वकालत गर्दै गौतमले प्रत्यक्ष निर्वाचित व्यक्तिहरु रहने प्रतिनिधिसभा र समानुपातिक समावेशी प्रणालीबाट चुनिने प्रतिनिधिहरुको राष्ट्रियसभा रहने व्यवस्था हुनुपर्ने बताए । माघ ८ मा संविधान जारी नभए आकाश नखस्ने भनी एमाओवादीले दिएको अभिव्यक्तिप्रति व्यङ्ग्य गर्दै उनले आकाशमा केही नभएको र केही नखस्ने समेत स्पष्ट पारे । गौतमले भने–‘‘आकाशमा के पो हुन्छ र खस्छ भनेर डराउनुपर्ने ?यो सस्तो लोकप्रियताको लागि गरिने प्रचारबाजीमात्रै हो । यसको पछाडी दौडनु हुँदैन् । ’’

नेकपा–माओवादीको विचारलाई संविधानमा उल्लेख गराउन प्रचण्डले गरिरहेको प्रयास सकारात्मक रहे पनि सरकारले उनीहरुको मागअनुसार राजनीतिक सम्मेलनको आयोजना गरेकोमा वैद्यहरुले नै बहिस्कार गरेकोले सरकार उनीहरुलाई कुरेर बस्ने पक्षमा नरहेको बताए । यद्यपि गौतमले सहमतिका लागि वार्ताका ढोकाहरु भने बन्द नभएको प्रष्ट पारेका छन् ।  सर्वोच्च अदालतले थप चार डीआईजी बढुवा गर्न दिएको आदेशविरुद्ध सरकारले पुनरावलोकन निवदेन दिने स्पष्ट पार्दै सर्वोच्च आफैंले पुनरावलोकन गर्ने विश्वास समेत साक्षात्कारमा स्पष्ट पारे । आफूले सहाना प्रधान, मदन भण्डारीको आमा र आफ्नी आमाको हातबाट दसंैको टीका थाप्ने गरेको तर तीनैजना नरहेकोले आफूले यसपालि टीका नलगाउने स्पष्ट पार्दै आफूभन्दा सानालाई भने टीका लगाइदिने बताए ।

चाडको बेलामा सुरक्षाव्यवस्थालाई बलियो बनाउन लाग्नुपर्ने भएकोले दसैंमा खासै नौलो कुरा नहुने बताए । उनले थपे–‘‘तपाईहरुलाई थाहै छ, गृहमन्त्रीको दसैं रातदिन जाग्राम बसेर काम गर्नुपर्छ, यत्तिको व्यस्त भएपनि म दसैंलाइ राम्रैै सँग मनाउँछु ।’’रिपोर्टर्स क्लब नेपालको लागि भवन निर्माण गर्न आफ्नो सधंै सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्दै क्लबका अध्यक्ष ऋषि धमलालाई त्यसको लागि पहलकदमी लिनसमेत गौतमले आग्रह गरे । गौतमले रिपोर्टर्स क्लब नेपालले प्रेस स्वतन्त्रता, मुलुकमा शान्ति बहाली गर्न, लोकतन्त्रको संस्थागत विकासका गर्न, सहमती कायम गर्न र संविधान निर्माण गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै आफू पहिल्यैदेखि रिपोर्टर्स क्लब नेपालको आफ्नो छुट्टै एउटा भवन होस् भन्ने पक्षमा रहेको प्रष्ट पारेका छन् ।गौतमले भने–‘‘ भवन निर्माणको लागि धमलाजीले नै वातावरण बनाउनुपर्छ, उहाँले जग्गा खोज्नुप¥यो हामी सबैखाले सहयोग गर्न तयार छौं ।

यसको लागि सरकारले गर्नुपर्ने सहयोग खुल्ला हृदयले गर्न हामी गर्न तत्पर छौं । उहाँले अब त्यसको लागि सबैलाई भन्नुप¥यो, म अहिले कार्यवाहक प्रधानीमन्त्रीको रुपमा रिपोर्टर्स क्लब नेपालमा आएको छु, तर म प्रधानमन्त्री नभएपनि प्रधानमन्त्रीभन्दा कम छुईन ्। ’’ गौतमले आफूलाई आफ्ना सहयोगी तथा सल्लाहकारहरुले अनौपचारिक कार्यक्रममा सहभागी नजनाउन सल्लाह दिएपनि ऋषि धमलाले दसैंको उपलक्ष्यमा बोलाइसकेपछि हार्ननसकेर कार्यक्रममा सहभागी भएको बताएका थिए ।


  •  
  •  
  •