प्रतिनिधि सभा तर्फको मत परिणाम सार्वजनिक गर्न माग

289
  •  
  •  
  •  

काठमाडौं,१७ पुस (ओएनएस): प्रतिनिधि सभातर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न माग गर्दै नेकपा एमाले र माओबादीका नेताले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

 

निर्वाचन आयोगले गरेको ढिलाइले नयाँ सरकार गठनको वाटो लम्बिएको भन्दै एमाले र माओबादीका नेताहरुले आज निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर छिटो परिणाम सार्वजनिक गर्न ध्यानाकर्षण गराएका हुन । निर्वाचन आयोगले जनताको जनादेश रोकेको भन्दै संबिधानको मर्म अनुसार अघि बढन आयोगको ध्यानाकर्षण गराइएको नेताहरुले बताएका छन् ।  प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फको नतिजा सकिएपनि समानुपातिक तर्फको सिट बाँडफाँट गरी टुंग्याउन आयोगले ढिलाई गरेको नेताहरुले आरोप लगाएका छन् । निर्वाचन आयोगले भने संबैधानिक बाध्यताका कारण राष्ट्रिय सभा निर्वाचन नभर्इ प्रतिनिधिसभाको निर्वाचन परिणाम सार्वजनिक गर्न नसकिने जवाफ नेताहरुलाई दिएको छ । आयोग पदाधिकारीले नेताहरुसँगको भेटमा संबिधानको मर्म र भावना अनुसार नै आयोग अघि बढेको पनि स्पष्ट पारेका छन् । दुई चरणमा गरेर प्रतिनिधि सभा निर्वाचन भएर प्रतक्ष्यतर्फको निर्वाचन परिणाम सार्वजनिक भएपनि आयोगले समानुपातिकको नतिजा सार्वजनिक गरेको छैन । राष्ट्रिय सभा निर्वाचनवाट महिला सहभागिता सुनिश्चित भएपछि मात्रै प्रतिनिधिसभाको परिणाम सार्वजनिक गर्न सकिने आयोगको भनाई छ ।

 

आयोगको ध्यानाकर्षण गर्न एमाले उपाध्यक्ष भीम रावल, पूर्व सभामुख सुवास नेम्वाङ, अग्नि खरेल, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र पाण्डे लगायतका नेता निर्वाचन आयोगमा पुगेका हुन्। यस्तै माओवादी केन्द्रका तर्फबाट बिना विभागीयमन्त्री कृष्णबहादुर महरासहित वर्षमान पुन, रामनारायाण बिडारी लगायतका नेता निर्वाचन आयोग पुगेका हुन् । यसअघि वामपन्थी गठबन्धनका युवा र विद्यार्थी संगठनले तत्काल समानुपातिकको नतिजा सार्वजनिक गर्न मागगर्दै प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्र बुझाएका थिए । एमालेसम्बद्ध युवा संघ नेपाल,  र माओवादीसम्बद्ध वाईसीएल नेपालको तर्फबाट ज्ञापनपत्र बुझाउँदै निर्वाचन आयोगले प्रतिनिधिसभालाई पूर्णता दिन नचाहेको भन्दै असन्तुष्टि जनाएका थिए ।


  •  
  •  
  •