अविवाहित किशोरी भेट्नै मुस्किल

399
  •  
  •  
  •  

मनहरी । मकवानपुरको मनहरी ४ नयाँबस्तीकी मिठू प्रजा अहिले २२ वर्षकी भइन् । उनका दुईवटा छोराहरू छन् । जेठो छोरा ४ वर्षको भइसकेको छ ।

उनले १७ वर्षको उमेरमा भागेर विवाह गरेकी थिइन् । अल्लारे उमेर, विवाहपछि जिन्दगी खुब रमाइलो हुन्छ होला भन्ने कल्पना, अनि आफूसँगैका साथीहरूको पनि विवाह भइसकेको अवस्थामा १७ वर्षमा नै नजिकैको केटासँग भागेकी थिइन् मिठू ।

‘बिहे गरेपछि जीवन रमाइलो हुन्छ होला जस्तो लागेको थियो,’ उनले भनिन्,‘साथीहरुले पनि विहे गरेपछि मलाई पनि रहर लाग्यो । तर, सोचे जस्तो भएन । नहुने रहेछ ।’

कल्पना भन्दा निकै फरक थियो भोगाई । अहिले २२ वर्षको उमेरमा उनी दुई सन्तानकी आमा भइसकेकी छिन् । कलिलै उमेरमा घर अनि बालबच्चाको जिम्मेवारी उनको काँधमा छ । खेतीले बल्लतल्ल ३ महिना खान पुग्छ । श्रीमान् मजदुरी गर्छन् । अहिले उनलाई पढ्न पाएको भए पनि केहि गर्थे भन्ने लागिरहन्छ ।

उनी भन्छिन्, ‘पढ्न पाएको भए मैले नि केही गर्न सक्थे । पढ्ने बेलामा बिहे गरेर आइयो,’ पढाइ छोडेर विवाह गरेको उनलाई पछुतो छ । भन्छिन्, ‘अहिले आएर जीवन गुजारा गर्नै मुस्किल छ । पढ्न पाएको भए अलि सहज हुन्थ्यो होला । एक जनाको कमाईले घर चल्न मुस्किल छ । उति बेला पढेको भए अहिले दुःख नै पाउने थिइन । तर के गर्नु साथीको लहैलहैमा सानैमा बिहे गरियो ।’ आफूले सानैमा बिहे गरेर दुःख पाए पनि अब भाइबहिनी अनि आफ्नै छोराहरूले चाहिँ सानैमा विवाह नगरुँन्, धेरै पढुन् भन्ने चाहना छ उनको ।

मिठू मात्र होईन सोही गाउँकी विस्मिता प्रजा अहिले २५ वर्षकी भईन् । उनको पनि ३ जना छोराहरू छन् । जेठो छोरो ७ वर्षको भैसकेको छ । आर्थिक अवस्था कमजोर त्यसमाथि उनी सानै हुँदा आमाले दोस्रो विवाह गरिन् । बा ले कान्छी आमा ल्याए । न त पढ्ने वातावरण बन्यो । न घरमा बस्न नै सक्ने स्थिति थियो । उनले विवाह गर्नुको विकल्प देखिनन् । उनले १६ वर्षको उमेरमा विवाह गरिन् । तीन जना छोराहरु भैसके पनि अझै उनी छोरीको पर्खाइमा छिन् ।

गाउँमा अविवाहित किशोरी भेट्नै मुस्किल छ । २५ वर्ष भन्दा मुनि उमेरका महिला २ देखि ४ जना बच्चाका आमा बनिसकेका छन् । २५ माथिका महिलाको ४ देखि १२ जनासम्म बच्चा छन् । ३० वर्षीया सविता प्रजा ६ सन्तानकी आमा हुन् । १३ वर्षको उमेरमा विवाह गरिन् ।

तर विवाह गरेको ३ वर्षसम्म उनको सन्तान भएन । सन्तान जन्माउनको लागि उनको उमेर पनि त कहाँ भएको थियो र ? तर यो कुरा न उनको श्रीमानले बुझे । न समाजले नै बुझ्यो । घर बाहिर निस्किए छिमेकीले मन दुख्ने गरी निःसन्तान भन्थे, घर भित्र हरेक रात श्रीमानले बाँझी भन्दै शरीर दुख्ने गरी कुट्थे । उनी जब १७ वर्षकी भइन् । अब भने उनले बाँझी जस्ता शब्द सुन्न नपर्ने भयो । उनले छोरीलाई जन्म दिइन् । श्रीमान पनि खुसी भए । तर यो खुसी धेरै दिन टिक्नै पाएन । उनको पहिलो सन्तानले धर्ती टेकेको धेरै समय नभई छोडेर गइन् । अर्को वर्ष फेरि उनले छोरी जन्माइन् । परिवारमा खुसी छायो ।

करिब १७ महिनाको बीचमा अर्को पनि छोरी भएपछि भने उनलाई फेरि श्रीमानले हेला गर्न थाले । पछि फेरि छोरा जन्मियो । अब अर्को पनि छोराको आसमा उनले २ वटी छोरी जन्माएकी छिन् । थाहा छैन अझै उनलाई कतिजना बच्चाले आमा भन्न पाउने छन् ।

गाउँ नजिकै चेपाङ प्राथमिक विद्यालय छ । ५ कक्षासम्म त सजिलै विद्यालय जान्छन् यो बस्तीका बालबालिकाहरू । तर जब ५ कक्षा पास हुन्छन् । घरबाट एक घण्टाको बाटो हिँडेर पशुपतिनाथ माध्यमिक विद्यालय मनहरी ४ मसिने पुग्नुपर्ने बाध्यता छ । धेरै जसोले ५ कक्षा पढ्ने वित्तिकै विद्यालय छोड्छन् भने कतिपयले ८–९ मा पुगेपछि । १२ कक्षा पढ्ने बालबालिका औंलामा गन्न मिल्ने छ । यसरी विद्यालय बीचमै छोड्ने बालबालिका धेरै जसोले बालविवाह गर्दै आएका छन् ।

बालविवाह रोक्न विशेष कार्यक्रम ल्याउने गाउँपालिकाकाे तयारी

सानै उमेरमा गरिने विवाहलाई निरुत्साहित गर्न मनहरी गाउँपालिकाले विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ ।
गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले चेपाङ, बोटे, बनकरीया समुदायबाट २० वर्ष पुगेरपछि विवाह गरेर विवाह दर्ता गर्न आउनेलाई केही विशेष सम्बोधन गर्ने तयारी भइरहेको जानकारी दिए । ‘मनहरी गाउँपालिकाको केही भेगमा अझै पनि अवस्था जटिल नै छ,’ उनले भने, ‘हामीले सानै उमेरमा हुने विवाहलाई निरुत्साहित नै गरेका छौं । विशेष गरी बोटे, चेपाङ र वनकरिया समुदायका मानिसहरुको २० वर्ष पूरा गरी विवाह भएमा र त्यसरी विवाह दर्ता गर्न आएमा गाउँपालिकाले केही सहयोग गर्ने कार्यक्रम ल्याउने तयारी भइरहेको छ । यो आर्थिक वर्षमा हामी त्यस्तो सहुलियत कार्यक्रम कार्यान्वयन गर्नेछौं ।’

उनले पछिल्लो केही वर्षमा बालविवाहमा कमी आएको दाबी गरे । सबै वडाहरुमा बालक्लबहरु गठन गरिएको भन्दै उनले विभिन्न पक्षबाट निरन्तर निगरानी भइरहेको बताए । ‘वडै पिच्छे बालक्लब गठन गरिएको छ,’ । उनले भने, ‘जनप्रतिनिधिले निगरानी गर्छन् । थाहा पाएसम्म बालविवाह हुन दिएका छैनौं । थाहा नै नभएको अवस्थामा पनि छ । पछिल्लो समय नियन्त्रण भएको छ । रोकथाम नै भएको छैन ।’ उनले जेठ यता धेरै बालविवाह बदर भएको भन्दै सूचना आएपछि निगरानी गरेर विवाह नै बदर गर्ने बताए । विभिन्न संस्थासँग सहकार्यमा बालविवाह निरुत्साहित गर्ने गरिएको उनले बताए ।

यता, गाउँपालिका उपाध्यक्ष मनिला विष्टले भने गाउँपालिकाले पर्याप्त लगानी गरेपनि प्रतिफल राम्रो नआएको टिप्पणी गरिन् । ‘हामीले होम स्टे सञ्चालनका लागि भनेर बजेट दिएका थियौं,’ उनले भनिन्, ‘आयाआर्जनमा लाग्नुपर्छ भनेर गाउँपालिकाले त्यस क्षेत्रमा धेरै लगानी गरेको छ । तर यसको प्रतिफल राम्रो आएको छैन ।’

नेपालले बाल अधिकारको संरक्षण र सम्वद्र्धनका लागि अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रतिवद्धताहरू जनाउँदै आएको छ । बालअधिकार महासन्धी, १९८९ को नेपाल पक्ष राष्ट्र हो । नेपालको संविधान २०७२ को धारा ३९ मा बालबालिकाको हकलाई सुरक्षित गर्दै बाल अधिकारलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको छ । संविधानको धारा ३९, बालबालिकाको हक अन्तर्गत उपधारा ५ ले कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन भनी बालविवाहलाई पहिलो पटक बालअधिकार हनन्को विषयको रुपमा उल्लेख गरी दण्डनीय अपराधको रुपमा स्वीकार गरेको छ । स्थानीय सरकारलाई बाल अधिकारको प्रवर्धनका लागि नेपालको संविधान, २०७२ र स्थानीय सरकार संचालन ऐन, २०७४ मा विभिन्न जिम्मेवारीहरूको व्यवस्था गरिएको छ ।

नेपालले जनाएको अन्तर्राष्ट्रिय प्रतिवद्धता र विद्यमान राष्ट्रिय कानुन अनुसार बालविवाह एक कानुनी र सामाजिक अपराध हो । मुलुकी देवानी संहिता एन, २०७४ को दफा ७० को उपदफा (घ) मा २० वर्ष पूरा नभई गरिएको विवाहलाई बालविवाहको रुपमा परिभाषित गरिएको छ ।
त्यसैगरी, स्थानीय सरकार संचालन ऐन, २०७४ मा गाउँ र नगरपालिकाको काम अन्तर्गत बालविवाह, बहुविवाह, लैंगिक हिंसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी प्रथा, कमलरी प्रथा, बालश्रम, मानव बेचविखन जस्ता सामाजिक कुरीति र अन्धविश्वासको अन्त्य गर्ने, गराउने जिम्मेवारी प्रदान गरेको छ । नेपाल बालविवाह हुने देशहरु मध्ये उच्च जोखिममा रहेको छ । नेपाल सरकारले सन् २०३० सम्म बालविवाह अन्त्य गर्न राष्ट्रिय रणनीति बनाई कार्यान्वयनमा समेत ल्याएको छ । यस रणनीतिलाई सफल पार्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था पनि लागिपरेका छन् । तर पनि समाजमा बालविवाहका घटनामा भने कमी आउन सकेको छैन ।
नेपाल प्रहरीको तथ्यांक अनुसार नेपालमा गत आर्थिक वर्ष २०७७÷७८ को ११ महिना (साउन–जेठ) मा ७८ वटा बालविवाहका घटना घटेका छन् । जसमा प्रदेश १ मा बालविवाहका १३ वटा घटना घटेका छन् भने प्रदेश २ मा १०, प्रदेश ३ मा ७, प्रदेश ४ मा ७, प्रदेश ५ मा १०, प्रदेश ६ मा १८, प्रदेश ७ मा ९, उपत्यकामा ४ वटा बालविवाहका मुद्दा दर्ता भएको अवस्था छ । शिक्षित समुदायमा भन्दा चेतना स्तर कम भएका, आर्थिक सामाजिक रुपमा पछि परेका समुदायमा बालविवाह बढी भएको पाइन्छ । यसको ज्वलन्त उदाहरण पनि यो समुदाय रहेको छ ।

मुलुक संघीयतामा गइसकेपछि तीन तहको सरकार बनेको छ । तर पनि महिला, बालबालिकाको क्षेत्रमा खासै परिवर्तन आउन सकेको छैन । उनीहरु शिक्षा, स्वास्थ्य, विवाह, प्रजनन् स्वास्थ्यका विषयमा खुलेर अगाडी आउन नसकेको अवस्था छ । जबसम्म गाउँघरमा महिला सुरक्षित र सम्पन्न हुन सक्दैनन् । तबसम्म महिला, शान्ति र सुरक्षा÷न्यायको परिकल्पना समेत गर्न सकिँदैन । त्यसैले बालविवाह अन्त्यको लागि महिलालाई नै जानकार, सजग र सुरक्षित बनाउन आवश्यक देखिन्छ । जसका लागि समन्वयात्मक रुपमा कार्ययोजना बनाई कार्यान्वयन गर्नु अपरिहार्य छ ।


  •  
  •  
  •