चार महिनामा ७२ बालबालिकामाथि यौन दुव्र्यवहार र बलात्कार

82
  •  
  •  
  •  

काठमाडौं । पहिलो चौमासिकमा ७२ जना बालबालिकाप्रति बाल यौन दुव्र्यवहार र बलात्कार भएका घटनाहरु घटेको पाइएको छ ।

राष्ट्रिय बालअधिकार परिषद्ले साउनदेखि कात्तिक महिनामा आमसञ्चार माध्यममा प्रकाशमा आएका बाल अधिकार हनन्का घटनाहरुलाई समेटेर तयार पारिएको चौमासिक प्रतिवेदनमा यस्तो पाइएको हो ।

महिनाको आधारमा सबैभन्दा बढी २२ जना बालबालिका भदौमा महिनामा पीडित भएका छन् ।
यस्तै साउनमा २ बालक र १७ बालिका गरी १९ जना पीडित भएका छन् । असोजमा ३ बालक, १७ बालिका र कात्तिकमा ११ बालिका यौन दुव्र्यवहार एवं बलात्कृत भएको पाइएको छ ।

यस्तै यस अवधिमा ५ जना बालक विदेशी नागरिकबाट बाल यौन दुव्र्यवहारमा परेका छन् भने ६७ जना बालिका जवरजस्ती करणीमा परेका छन् ।

अस्ट्रेलियन नागरिकले नेपाल आएर ठमेलमा ३ जना बालकलाई बाल यौन दुव्र्यवहार गरेका थिए भने कास्कीमा प्याराग्लाइडिङको पाइलट समेत बाल यौन दुव्र्यवहारमा संलग्न भएको पाइएको छ ।

बालिका बलात्कार भएका घटनामध्ये ७ जना बालिका सामूहिक बलात्कारमा परेका छन् । घटनालाई हेर्दा सामूहिक बलात्कारमा परेकी १ जना बालिका आफ्नै दाजु समेत संलग्न भएको पाइएको छ । बलात्कारका घटनाहरुलाई विश्लेषण गर्दा सबैभन्दा बढी चिनजानको व्यक्तिबाट २३ जना बालिका बलात्कार भएका छन् । त्यसैगरी छिमेकीबाट १९ जना, आफ्नै बाबु तथा हाडनाताबाट ११ जना, शिक्षक तथा सरकारी कर्मचारीबाट ४ जना, घरमालिकबाट घरेलु बाल श्रममा रहेका ३ जना र अपरिचित व्यक्तिबाट ७ जना बालिका बलात्कृत भएका छन् ।

हाडनाताबाट बलात्कार भएका ११ जना बालिका मध्ये ५ जना बालिका आफ्नै बाबुबाट बलात्कार भएका छन् । बलात्कारमा संलग्न अभियुक्तमध्ये ५ जना बालकहरु नै रहेको देखिन्छ भने ६० वर्षमाथिका व्यक्तिबाट ४ जना बालिका बलात्कृत भएका छन् ।

बलात्कारबाट पीडित भएका बालिकाको उमेर समूहका आधारमा विश्लेषण गर्दा ५ वर्ष वा सोभन्दामुनि ५ जना, ६ देखि १० वर्षका १३ जना, ११ देखि १४ वर्षका २७ जना र १५ देखि १८ वर्षका २२ जना बालिका रहेका छन् । सबैभन्दा कम उमेरको महोत्तरीमा ८ महिने बालिकालाई अपहरण पश्चात बलात्कार गरी हत्या गरिएको छ भने ११ देखि १४ वर्ष उमेरका बालिकाहरु धेरै संख्यामा बलात्कारबाट पीडित भएका देखिन्छन् ।

जिल्लागत रुपमा विश्लेषण गर्दा बढी ओखलढुंगामा ७ जना बालिका बलात्कृत भएका छन् ।
ललितपुर, बाँके, धनुषा र सोलुखुम्बुमा १६, मोरङ् काठमाडौं, सुर्खे र अछामा १३, झापा, बारा, रोल्पा, स्याङ्जा र नवलपरासी पूर्वबाट १४ र कपिलवस्तु, नुवाकोट, नवलपरासी पश्चिम, कास्की, दाङ, सप्तरी, तनहुँ, बाग्लुङ, बैतडी, कञ्चनपुर रुकुम पश्चिम, पर्वत, बझाङ, सिरहा, कमवानपुर, महोत्तरी, गुल्मी र पाँचथरमा १८ बालिका पीडित रहेका छन् ।

के छ कानूनीमा

मुलुकी अपराध संहितामा यौन दुव्र्यवहारकाबारेमा उल्लेख गरिएको छ ।  अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूर र त्यसको दण्ड व्यवस्था अन्तर्गत दफा २२४ मा यौन दुव्र्यवहार के हो ? र के गरिएको अवस्थामा के कति दण्ड सजाय हुने भन्ने प्रष्ट गरिएको छ ।
दफा २२४ मा यौन दुव्र्यवहार गर्न नहुने भन्दै उपदफा (१) मा कसैले कसैलाई यौन दुव्र्यवहार गर्न वा गराउनु हुँदैन भनिएको छ ।

उपदफा (२) मा कसैले आफ्नो पति वा पत्नी बाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरी विना करणीका आशयले समातेमा वा निजको संवेदनशील अंग छोएमा वा छुन प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजले लगाउने भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधा अवरोध गरेमा वा निजलाई अस्वाभाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन, समाउन लगाएमा, निजसँग अश्लिल वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा साङ्केतिक रुपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लिल चित्र वा तस्वीर देखाएमा, यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्या्िदत व्यवहार गरेमा निजले यौन दुव्र्यवहार गरेको मानिनेछ ।

(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।

दफा २२५ मा भने बालयौन दुरुपयोग गर्न नहुने उल्लेख गरिएको छ । जसको उपदफा (१) मा कसैले बालयौन दुरुपयोग गर्न वा गराउन हुँदैन भनिएको छ ।

उपदफा (२) मा कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रुपमा एकान्तमा लगेमा, यौन सम्बन्धी निजको अंग छोएमा वा समातेमा, यौन सम्बन्धी आफ्नो अंग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको मानिनेछ ।

दण्ड सजायका सम्बन्धमा भने कानुनमा यसरी व्यवस्था गरिएको छ । यसै दफाको उपदफा (३) मा उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।

२२६. अप्राकृतिक मैथुन गर्न नहुनेः (१) कसैले कसैको मञ्जुरी विना अप्राकृतिक मैथुन गर्नु वा गराउनु हुँदैन । स्पष्टीकरणः यस उपदफाको प्रयोजनको लागि बालबालिकाले दिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।

(३) बालबालिका बिरुद्ध उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दफा २१९ बमोजिम सजाय हुनेछ ।


  •  
  •  
  •