रोकिएन बलात्कारको घटना, २ देखि २५ वर्षसम्मकी महिला बलात्कृत

बलात्कारको अभियोगमा नौ पक्राउ, ६ फरार
381
  •  
  •  
  •  

काठमाडाैँ , ४ चैत (ओएनएस) : सप्तरीमा १ महिनामा नौ वटा बालत्कारको घटना भएका छन्।२ देखि १५ बर्षसम्मको महिला बालात्कृत भएकी छिन्।

अधिकांस जघन्य अपराध जस्तो बालत्कारको घटना आफ्नै छरछिमेक तथा नातेदारहरुबाटहुने गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

सप्तरीमा एकपछि अर्को बालत्कारका घटना दोहोरिन थालेका छन्। प्रहरीले घटनामा संलग्नहरुलाई पक्राउ गर्दै मुद्दा दर्ता गरिरहेको छ, तर बलात्कारको शृंखला भने रोकिएको छैन।

गत शुक्रबार मात्रै लिफ्ट मागेर माइक्रोमा चढेकी एक युवतीलाई माईक्रोबसका चालक र सहचालकले नै सामूहिक बलात्कार गरे। छिन्नमस्ता–काठमाडौं चल्ने बा५प ३१४१ नम्बरको माइक्रो बसभित्रै १७ वर्षीय ती किशोरीको बलात्कार भएको प्रहरीले जनाएको छ।

घटनाका आरोपी सिरहाको भगवानपुर ९ घर भएका चालक वैजनाथ दास र बाँकेको राप्ती सोनारी ५ का सहचालक खेमराज वैस्यलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरु विरुद्ध बालात्कारको मुद्दा दर्ता गरिने प्रहरी जनाएको छ।

त्यस्तै यो महिनाको पहिलो साता प्रहरीले खडक नगरपालिका ९ लालपत्ताका १८ वर्षीय राजदेव मण्डललाई पक्राउ ग¥यो। १३ वर्षीया बालिका पार्वतिकुमारी मण्डललाई बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका उनी मृतक बालिकाकै ठुलोबुबाका छोरा हुन्।

त्यस्तै उक्त घटना भएकै दिन तिलाठी–कोइलाडी गाउँपालिका ७ मन्सापुरकी ११ वर्षीया एक बालिका बलात्कारको शिकार भइन्। आरोपीलाई भोलिपल्टै पक्राउ गरी मुद्दा दर्ता गरिएको छ प्रहरी जनाएको छ।

यसैगरी, फागुन २७ मा १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भयो। आरोपी शम्भुनाथ नगरपालिका ३ का २० वर्षीय एटलान्टिक चौधरी र सोही ठाउँका २० वर्षीय अजयकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। अन्य आरोपितहरू सोही ठाउँका २२ वर्षीय अर्जुनकुमार साह, २१ वर्षीय मनोजकुमार साह, २० वर्षीय बबी चौधरी र नाम नखुलेका अन्य दुई जना फरार छन्। प्रहरीले उनीहरुको खोजी गरिरहेको छ। बलात्कारको आरोपमा पक्राउ परेका सबै पीडित युवतीका छिमेकी हुन्।

त्यसको एकदिन अघिमात्रै २५ वर्षीया महिलाको सामूहिक बलात्कार भयो। आरोपीहरु बिष्णुपुर गाउँपालिका ५ का ३५ वर्षीय जिवछ राम र ३ का २८ वर्षीय इसराइल मियाँ विरुद्ध प्रहरीले उजुरी दर्ता गरेको छ। फागुन २३ मा ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दर्ता छ। फागुन २५ मा उजुरी दर्ता भएदेखि नै आरोपी फरार छन्।

यस्तै, छिन्नमस्ता गाउँपालिकामा दुई वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी १२ वर्षीय बालक पनि प्रहरी नियन्त्रणमा छन्।

प्रहरीका अनुसार विगत एक महिनाभित्रै सप्तरीमा बलात्कारका ९ वटा घटना भएका छन्। अधिकांश घटनामा परिवारका सदस्य र छिमेकीहरु संलग्न पाइएको छ भने केही घटनामा मात्रै बाहिरी व्यक्तिहरु संलग्न भएको प्रहरीको भनाइ छ।

‘सुरक्षा व्यवस्था कडा पारेर मात्रै बलात्कार नियन्त्रण गर्न कठिन छ,’ सप्तरीका एसपी मुकेशकुमार सिंहभने, ‘जनस्तरमै यस विषयमा जागरण ल्याउन नसके यसले समाजमा नकारात्मक असर पार्न सक्छ।’


  •  
  •  
  •