बाल याैनदुराचारकाे घटनामा विदेशीकाे संलग्नता बढ्दै

574
  •  
  •  
  •  

काठमाडौं, २६ चैत (अाेएनएस) :यौनदुराचारको अभियोगमा एक क्यानेडियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । स्थायी ठेगना क्यानडा रहेको ६० वर्षीय पिटर जोन डाल्गील्स नाम गरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेको व्यक्तिको राहदानी नं सी८ डब्लुभी ४२२९डब्लु रहेको खुलेको छ । समाजसेवाको आवरणमा बाल यौनदुराचारमा संलग्न उनी संयुक्त राष्ट्र संघका एक पूर्व उच्च अधिकारी समेत रहेको खुलेको छ ।

विशेष सूचनाको आधार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) द्धारा खटिएको प्रहरी टोलीले यहि चैत्र २४ गते बिहान साढे ६ बजेको काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालीका बडा नं १ स्थिन चिलकाजी महर्जनको घरमा कोठा भाडामा लिई बसेको पिटरलाई उनकै कोठाबाट पक्राउ गरेको हो ।

१२ र १४ बर्ष उमेरका दुई बालकसँग आपत्तिजनक अवस्थामा फेला परेपछि क्यानेडियन नागरिक पिटरलाई पक्राउ गरिएको सिआइबीका निर्देशक डिआइजी पुष्कर कार्कीले बताए ।गरीब बालकहरुलाई घुमाउने, पढाउने र राम्रो जागिरमा लगार्इ्दिने जस्ता बिभिन्न प्रलोभनमा पारी सम्बन्ध बिस्तार गर्दै जाने अनि अन्तत यौनशोषण गर्ने गरेको प्रहरीको प्ररम्भिक अनुसन्धानबाट खुलेको सिआइबीका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले बताए। पिटरले विगत २ वर्षदेखि नेपालमा शिक्षा र खानेपानीको क्षेत्रमा सहयोग गर्ने उद्धेश्य राखेर हिमालयन कम्युनिटी फाउन्डेसन नामक एनजिओ सञ्चालन गर्दै आएका थिए ।

तीन वटा विषयमा विद्यावारिधि समेत गरेका पिटर स्ट्रिट किड्स इन्टरनेसनल नामक आइएनजिओका संस्थापक पनि हुन् । युएन ह्याभिट्याटको प्रमुखका रुपमा अफगानिस्तानमा समेत उनले काम गरेका थिए । अफगानिस्तानमा उनले २०१० देखि २०१४ सम्म काम गरेका थिए । विश्व स्वास्थ्य संगठनकमा वरिष्ठ सल्लाहकारका रुपमा उनले लाइबेरिया र डार्फरमा समेत काम गरेको खुलेको छ । सिआइबीका एसपी श्रेष्ठका अनुसार पिडक पिटर विरुद्ध जर्बजस्ती करणी मुद्दामा कारबाही अघि बढाइएको छ भने पिडीत पक्षसग पनि थप अनुसन्धानका कामहरु भइरहेको छ ।

बिभिन्न मुलुकका बिदेशी नागरिकहरुले नेपाली बालकहरुलाई ललाई फकाई बिभिन्न प्रलोभनमा पारी बाल यौन दुराचार गरी नेपाली बालकहरुलाई पीडित बनाउने गरेको घट्नाहरु पछिल्लो समयमा निकै बढेको छ । यस्ता यौन दुराचारीहरु शुरुवाती समयमा स्वमं कुनै सस्थाको स्थापना गर्ने या त स्वंय सेवकको रुपमा बिभिन्न सस्थाहरुसग संलग्न हुने गर्दछन् । सोहि बाटो मार्फत बिस्तारै साथीत्व या सहयोगीको रुपमा सम्बन्ध प्रगाढ बनाउदै अन्ततः यौन दुराचारसम्म पुग्ने गरेको बिभिन्न अनुसन्धानले देखाएको छ ।

बाल अधिकारको क्षेत्रमा काम गर्दे आएको सस्था साथसाथका कार्यक्रम संयोजक कबिता शाह हाम्रा भाइहरु छोराहरु आफ्नै घर परिवार भित्र देखि स्कुल पार्क या कुनै पनि सार्वजनिकमा स्थल सुरक्षित नभएको बताउछन् । उनका अनुसार हामी आज पनि छोरीको मात्र सुरक्षाको बारेमा कुरा गछौ तर त्यसो होइन अहिले हामीले के छोरा के छोरी दुबैको सुरक्षाको बारेमा सोच्न जरुरी छ । संयोजक शाहका अनुसार आफ्ना छोराछोरीहरु घरमा बस्दा के गर्छन मोबाइलमा को सग कस्ता कुरा गर्छन स्कुलबाट कुन बेला घर आउछन स्कुलमा साथीहरुसग के कस्ता व्यवहार तथा कुराकानी गर्छन घुम्न को सँग कसरी कहा जान्छन जस्ता सुन्दा साधारण लाग्ने बिषयमा नै अभिभावक देखि शिक्षकहरुको ध्यान जानु पर्ने हुन्छ

बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरुमा कति बालक यौन दुब्यवहारको सिकार बने भन्ने यकिन तथ्यांक नभए पनि बाल अधिकार र संरक्षणमा काम गर्दै आएको सस्था साथसाथमा मात्र २ सय ५५ वटा बाल यौन दुव्र्यवहारका घटनाहरु दर्ता भएको छ । सस्थाका निर्देशक बिश्व बज्राचार्यले हामी जस्ता सस्थाहरुको सम्पर्कमा नआएका धेरै घटनाहरु हुन सक्छन किन भने यो सवालमा धेरैको ध्यान पुग्न सकेको छैन किनकि आफ्नो छोराहरुले यस्तो भयो भनेको अवस्थाममा अभिभावकहरुले नै नपत्याउने या त लाज हुन्छ भन्नुहुन्न भनेर घटनालाई बाहिर ल्याउन नचाहनेहरु धेरै रहेको बताउँ छन् ।

महिलालाई हिंसा गर्दा गम्भिर हो तर पुरुषलाई गर्दा केही पनि होइन भन्ने सोचले गर्दा पनि धेरै घटनाहरु बाहिर नआएको केन्द्रिय बाल कल्याण समितीका कार्यकारी निर्देशक तारक धितालको भनाई छ । कानुनले अहिले बालकलाई पनि दुव्र्यवहार गरे बलात्कार सरह कारवाही गर्न सकिने भनेर व्यवस्था गरेको छ । अप्राकृतिक मैथुनको सम्बन्धमा मुलुकी ऐनको जबरजस्ती करणीको महलको दफा ९ ‘क’ मा कसैले कुनै नाबालकसँग कुनै किसिमको अप्राकृतिक मैथुन गरे वा गराएमा जबरजस्ती करणी गरेको मान्ने प्रावधान छ । त्यस्तो गरेको ब्यक्तीलाई महिला वा बालिकालाई करणी गरे बमोजिम हुने समयमा थप एक बर्ष कैद र त्यस्तो नाबालकको उमेर र उसलाई पुग्न गएको मर्का समेत बिचार अप्राकृतिक मैथुन गर्नेबाट मनासिव माफिकको क्षतिपूर्ति समेत भराई लिने ब्यवस्था गरेको छ । जबरजस्ती करणी गर्नेलाई ६ बर्षदेखि १५ बर्ष सम्म कैद सजाय कानुनमा तोकिएको छ ।

नेपालको सन्दर्भमा यस्तो अपराधलाई मुलुकी ऐनको जबरजस्ती करणीको महल अन्तर्गत कारवाही गर्ने अभ्यास रहेता पनि कार्यन्वयनको पक्ष प्रभावकारी नुहँदा यस्ता घटनाहरुका पिडीतलाई कानुनी रुपमा न्याय दिन नसकिएको सरोकारवालाहरु बताउछन् ।

कानून अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) का कार्यक्रम संयोजक अधिबक्ता सन्तोष महर्जन भन्छन् “बाल यौन दुराचारको लागि अझै कानून स्पष्ट नभएकोले पिडितलाई न्याय दिलाउन सकिएको छैन, त्यसैले यसको लागि छुट्टै कानूनको आवश्यक भएको छ । ”


  •  
  •  
  •