१७० वर्ष कैद सजाय पाएका बेचबिखनका ‘डन’ बजिरसिंहको जेलमै मृत्यु

137
  •  
  •  
  •  

काठमाडौं ५ मंसिर ।
६ किशोरी बेचबिखनको कसुरमा १७० वर्षको कैद सजाय भुक्तान गरिरहेका मानव बेचखिबनका ‘डन’ बजिरसिंह तामाङको सुनसरी जिल्ला कारागार झुम्कामा मृत्यु भएको छ।

कारागार सरुवा हुँदै वर्षअघि झुम्का पुर्‍याइएका शिखरपुर–८ सिन्धुपाल्चोकका ३७ वर्षीय बजिरसिंहको कात्तिक १९ गते अकस्मात मृत्यु भएको हो। कारागार लगिएदेखि नै बिरामी उनी त्यो दिन सिकिस्त भएपछि उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको सुनसरी कारागारका निमित्त जेलर तुलसी आचार्यले बताए। ‘पहिल्यैदेखि बिरामी थियो। औषधी पनि खाँदै थियो,’ उनले भने।
१४–१९ वर्ष समूहका ६ किशोरीलाई बेचेको मुद्दामा अभियोग पुष्टि गर्दै सिन्धुपाल्चोक जिल्ला अदालतले उनलाई २०६९ असार २७ गते मानिसको सामान्य औसत आयुभन्दा तीन गुणा बढी १ सय ७० वर्ष कैद सजायको फैसला सुनाएको थियो। पीडित किशोरीको पक्षमा कानुनी सहायता दिएका अधिवक्ता भेषराम ढकालका अनुसार बजिरलाई तोकिएको यति धेरै वर्षको कैद सजाय दक्षिण एसियाकै न्यायिक इतिहासमा पहिलो थियो।
क्षयरोग (टिबी) ले ग्रसित उनको मृत्यु भने एचआइभी/एड्सका कारण भएको बजिरसिंहको उपचारमा संलग्न सुनकारी कारागारका स्वास्थ्य प्राविधिक यामप्रसाद गौतमले बताए। जुन, रोग उनले अन्तिम समयसम्म लुकाएका थिए। ‘अन्तिम अवस्थामा पुगेपछि मर्नु दुई दिनअघि मात्र उसले आफूलाई पहिल्यैदेखि एचआइभी/एड्स रहेको खुलासा गरेका थियो,’ उनले भने। उनका अनुसार त्यहाँ जानुअघिदेखि नै टिबीको औषधी खाइरहेको उनी अस्वभाविक दुब्लाउँदै गएपछि कारागार प्रशासनले रगत, खकार, पिसाब जाँच गरेर रोग पत्ता लगाउन निकै ठूलो प्रयास गरेको थियो।
‘समस्या एउटा रहेछ, लुकाएकाले रोग पत्ता लाग्न सकेन। क्षयरोगको मात्रै उपचारमा केन्द्रित भयौं,’ उनले भने।

रोग खुलाएपछि भोलिपल्टै अस्पताल पुर्‍याएर एचआइभी/एड्सको उपचार थालेको २४ घन्टा नबित्दै उनको मृत्यु भयो। सिन्धुपाल्चोक कारागारमा रहने क्रममा पीडित किशोरीका अभिभावकविरुद्ध श्रृंखलाबद्ध उजुरी हाल्ने, कारागारको टेलिफान जथाभावी प्रयोग गरी प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, न्यायाधीश, कानुन व्यवसायी, पत्रकारलाई तनाव दिन थालेपछि उनलाई २०७० असार २२ गते चितवन सरुवा गरिएको थियो। त्यही वर्षको पुस २८ गते उनलाई पुनः सरुवा गरेर सुनसरी पुर्‍याएको थियो।

मानव बेचविखन तथा ओसारपसार विरुद्धको ऐन २०६४ को दफा १५ (१) को ‘क’ र ‘ख’ बमोजिम मानव किनेको, बेचेको तथा दफा १५ (५) अनुसार वेश्यावृत्तिमा लगाएको र सोही उपदफाको पटके कसुरमा जिल्ला अदालतले कैद सजायको फैसला सुनाएको थियो। छिमेकी गाउँका किशोरी चौतारा–बी, इ, एफ, जी, जे, र एल (प्रहरीले दिएको उपनाम) लाई भारतको वेश्यालयमा बेचेको अभियोगमा २०६७ मंसिर १४ गते उनी काठमाडौंबाट पक्राउ परेका थिए। चौतारा–इ र एफको मुद्दामा उनलाई जनही ४० वर्ष कैद, २ लाख ५० हजार जरिवाना, चौतारा–बी र एलको मुद्दामा जनही २० वर्ष कैद, २ लाख जरिवाना र चौतारा–जी र जेको मुद्दामा जनही २५ वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना सजाय तोकिएको थियो। अदालतलेे सबै पीडितलाई जनही डेढ लाखको दरले क्षतिपूर्ति भराउनसमेत आदेश दिएको थियो।
ऐनको दफा १५(१) को ‘क’ मा ‘मानव किन्ने, बेच्नेलाई २० वर्ष कैद र २ लाख जरिवाना’को व्यवस्था छ। ‘ख’ मा ‘कुनै फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउनेलाई कसुरको मात्रा अनुसार १०–१५ वर्ष कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने’ व्यवस्था छ। त्यस्तै पटके कसुरदारलाई दफा १५(५) बमोजिम ‘कसुर प्रमाणित भएको सजायको एक चौथाई थप सजाय हुने’ कानुनी व्यवस्था छ। बजिरसिंह पटकपटक बेचबिखनमा संलग्न भएको पुष्टि भएकाले यो दफाअनुरुप थप सजायको फैसला सुनाइएको थियो।
६ वटा मुद्दामा फरक–फरक कैद जोड्दा १७० वर्ष पुगे पनि बजिरसिंहले मुलुकी ऐन, दण्ड सजायको ४१ नम्बर अनुसार सबैभन्दा ठूलो सजाय ४० वर्ष जेलमा बिताउनुपर्थ्यो। तोकिएको १३ लाख २५ हजार रुपैयाँ जरिवाना नतिर्दा अर्को चार वर्ष कैद थपिन्थ्यो। उनले ६ मुद्दामा २० वर्षदेखि ४० वर्षसम्म कैद सजाय पाएका थिए। हिरासतमा लिइएको दिनबाट कैद सजाय सुरु हुँदा उनी २१०७ साल कात्तिक २७ गते मात्र छुट्थे। जरिवाना नतिरेबापतको चार वर्ष थपिँदा उनी २१११ साल कात्तिक २६ सम्म जेलमा बस्नु पर्थ्यो।
बजिरसिंह कोठी सञ्चालकसमेत थिए। भारतको आग्रा सहरस्थित सहिद नगरमा उनको कोठी थियो। जिल्ला अदालतमा अन्तिम बहस हुँदा पीडित पक्षका कानुन व्यवसायीले बजिरसिंह लगायतले सिन्धुपाल्चोकका मात्रै २६ युवती भारत लगेर बेचेको जिकिर प्रस्तुत गरेका थिए। सुनसरी कारागारका चौकीदार तारा नेपालका अनुसार जेल मेरो प्यारो घर भन्ने बजिरसिंह पछिल्लो समय निकै शिथिल भइसकेका थिए।
‘शौचालय र कोठा गर्दा पनि अरुकै सहायता चाहिन्थ्यो। कसैसँग नबोली कोठामा एक्लै मात्र बसिरहन्थ्यो,’ उनले भने। कुनै पनि पश्चाताप बोध नगर्ने उनी मर्छु कि भन्ने मात्र चिन्ता गरिरहने तारा बताउँछन्।
उनकाअनुसार कारागार प्रशासनलाई रोगबारे मर्नु दुई दिनअघि मात्र जानकारी गराएका बजिरसिंहले कैदी, बन्दीसँग भने १५ दिनअघि नै आफूमा एचआइभी/एड्स भएको बताएका थिए। यसअघि उनले आफूलाई निको नहुने रोग लागेको छ मात्रै भन्दै आएका थिए। कैदी, बन्दीलाई आलुले भरिएको बोरा देखाउँदै भन्ने गर्थे, ‘त्यो बोरामा बरु त्यति आलु छैन, जति मैले केटी बेचेको छु।’ कुनै उपायद्वारा जेलबाट निस्कन सके फेरि बेचबिखनमा फर्कने उनी सुनाउँथे।
‘काठमाडौं सरुवा भएर मात्रै त जान पाऊँ, रोगको उपचार गराउँछु। मुद्दा लड्छु। मेरा जति साथी छन्, तिनले मद्दत गरेको खण्डमा म चाँडै जेलबाट निस्कन्थेँ। र, पुरानै काममा फर्कंन्थे,’ ताराले बजिरको भनाइ सुनाउँदै भने।
बजिरसिंह मुर्नु दुई दिनअघि कात्तिक १७ गते मात्र पुनरावेदन अदालत पाटनले उनीविरुद्ध जिल्ला अदालतले सुनाएको फैसला सदर गरेको थियो। बजिरसिंहको मृत्युको जानकारीपछि सुरु फैसला गर्ने न्यायाधीस डुमे्रले प्रतिक्रिया दिए, ‘जुन साँप समातेका थिए, त्यसैले डस्यो।’ उनी अहिले जिल्ला अदालत चितवनमा छन्।
उनीद्वारा बेचिएकापीडितले बजिरसिंहको मृत्युलाई ‘निर्दयी यमराजको उदार निर्णय’ भनि प्रतिक्रिया दिएका छन्। ‘उनको मृत्यु निकै चाँडो भयो। पश्चातापको मौका नदिई लैजानु हुन्नथ्यो,’ बजिरसिंहद्वारा १४ वषमै बेचिएकी चौतारा–एफ भन्छिन्।
पछिल्लो समय बजिरसिंह परिवारबाट पनि टाढिएका थिए। उनले दिदी भनेर सम्बोधन गर्ने एक महिलाबाहेक कोही भेट्न जाँदैनथे। उनको शव बुफ्न पुगेका बाबु हर्कबहादुर र ज्वाइँले कुनै शोक मनाउ गरेनन्। सिन्धुपाल्चोक लैजान नसक्ने भन्दै सुनसरी खोलामा दाहसंस्कार गरी हिँडेका थिए। तीन श्रीमती बिहे गरेका उनी एक्ला थिए। उनकी जेठी श्रीमतीको पहिल्यै रहस्यमय मृत्यु भएको थियो। दोस्रीलाई बिहे गरेको आठ महिनापछि बेचेका थिए। नेपालमा बजिरसिंह पक्राउ परेपछि तेस्रीले भारतमै अर्कैसँग बिहे गरिन्। बजिरसिंहले एक पटक बेच्न लगेका सिन्धुपाल्चोकका ६ युवतीमध्ये तेस्री एक थिइन्। नागरिकबाट


  •  
  •  
  •