काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन्।
बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष ०८१/८२ को बजेटको स्रोत अनुमानसम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्रीले जनतामा आशा जगाउने गरी उत्पादन र रोजगारकेन्द्रित बजेटको तयारी गर्न निर्देशन दिएका हुन्।
बैठकमा प्रधानमन्त्रीले भने, ‘नीति तथा कार्यक्रम र बजेट निर्माणमा दुईथरी दृष्टिकोण छन्। एउटा दृष्टिकोण छ, अर्थतन्त्र दबाबमा छ, धान्न सक्ने परम्परागत ढाँचाकै बजेट बनाएर जाऊँ। अर्को दृष्टिकोण छ– चुनौतीभित्र नै केही गरेर देखाउने र परिणाम दिने अवसर पनि हुन्छ। त्यसैले, नीति तथा कार्यक्रम र बजेटमार्फत केही नयाँ गरौँ। देशमा केही हुँदैन भन्ने भाष्य व्यवहारबाट चिरौँ। मचाहिँ केही नयाँ गरौँ भन्नेमा दृढ छु।’
छलफलमा प्रधानमन्त्रीले संकटको वेला राज्यले हस्तक्षेप गरेरै भए पनि अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिए।