आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक हुँदै

175
  •  
  •  
  •  

काठमाडौं, १५ जेठ(ओएनएस) : सरकारले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्दैछ । संघीय संसदको दिउँसो ४ बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट पेश गर्ने कार्यक्रम रहेको छ ।

संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत गर्ने व्यवस्था छ, सोही अनुसार आज बजेट संसदमा प्रस्तुत गर्न लागिएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले दोस्रो पटक बजेट प्रस्तुत गर्न लागेको हो ।
बजेटमा भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताइएको छ । बजेट लेखनको सम्पूर्ण तयारी सकिएको अर्थ मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेटको ‘सिलिङ’ अन्तिम समयमा परिमार्जन गरेको छ । आयोगले यसअघि १४ खर्ब ९३ अर्ब रुपैयाँको सिलिङ दिएको थियो ।

करिब १५ खर्ब भन्दा माथि बराबरको बजेट ल्याउन राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई सीमा परिवर्तन गरिदिएको छ । चालु आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको सरकारले आगामी आर्थिक वर्षको बजेटलाई बढी व्यवहारिक र कार्यान्वयमुखी बनाउने लक्ष्य राखेको छ ।


  •  
  •  
  •