फलफूल तथा तरकारी बजारमा अनुगमन

317
  •  
  •  
  •  

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालिमाटी र बल्खुको तरकारी बजारमा अनुगमन गरेको छ ।

विभागले २ वटा टोली परिचालन गरेर शुक्रबार बिहान ४ बजेदेखि कालिमाटी र बल्खुको तरकारी बजारमा अनुगमन गरेको हो ।

असार अन्तिम सातादेखिको अविरल वर्षा र बाढीपहिरोको कारण देखाउँदै व्यापारीहरुले तरकारीको मूल्यमा अस्वभाविक वृद्धि गरेको गुनासो बढ्न थालेपछि विभागको टोलीले अनुगमन गरेको हो ।

उपत्यकामा भित्रने तरकारी वर्षापछिको बाढीपहिरोका कारण सडक अवरुद्ध भएको र माग अनुसार आपूर्ति नभएको भन्दै व्यापारीहरुले तरकारीको मूल्य बढाएका थिए ।

कालिमाटी अनुगमनको नेतृत्व गरेका विभागका शाखा अधिकृत दीपकराज पोखरेलले अनुगमनका क्रममा अधिकांश व्यापारीहरुले खरिद तथा बिक्री बिलबिजक जारी नगरेको भेटिएको थियो ।

अनुगमनका क्रममा विभागले कालिमाटी बजार भित्रका ८ र बल्खु बजार भित्रका ११ जना व्यापारीलाई ५ हजार देखि २० हजारसम्म जरिवाना गरेको छ । व्यापारीहरुले बिलबिजक जारी गरेको देखाउन नसकेपछि उनीहरुलाई स्पष्टीकरणका लागि विभागमा पनि बोलाइएको पोखरेलले बताए ।

उपभोक्ता अधिकारकर्मी तथा उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सेनाले एउटै बजारभित्र एउटै वस्तुलाई पनि फरक–फरक मूल्यमा बेच्ने गरेको भेटिएको बताए ।


  •  
  •  
  •