वैद्य पनि मोदीसँग भेटगर्न इच्छुक

170
  •  
  •  
  •  

unnamed

काठमाडौ, १२ साउन (ओएनएस) : नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा आफुहरूले विरोध नगर्ने बताएका छन् । आइतबार ३३ दलीय मोर्चाले विरोधका कार्यक्रम सार्वजनिक गरेको भोलीपल्ट सोमबार गजुरेलको यस्तो भनाई आएको हो ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘मित्र राष्ट्रको प्रधानमन्त्री आउँदा हामी विरोध गर्दैनौं । हामीले विरोधका कार्यक्रम पनि राखेका छैनांै र राख्दैनौं पनि ।’ साक्षात्कारमा गजुरेलले आफूहरू विरोध भन्दा पनि भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्न ईच्छुक भएको भन्दै विदेश मन्त्री सुष्मा स्वराजसँग वार्ता गर्न चाहे पनि उनले किन बार्ता गर्न चाहिनन् भनेर आफूहरू आश्चर्यमा परेको बताए । उनले भने, ‘भारत सरकारको हामीसँग वार्ता गर्ने के नीति छ, त्यसमा पनि भर पर्छ । तर हामी भने वार्ता गर्न सधैं तयार छौं ।’

उनले विदेशमन्त्री स्वराज आउँदा समेत आफूहरूले विरोध नगरेको स्पष्ट पार्दै अब भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्न आफुहरू तयार भएर बसेको बताए । गजुरेलले भने, ‘पशुपतिनाथको दर्शन गर्न आउने भारतीय प्रधानमन्त्रीलाई विरोध होईन, हामी स्वागत गर्न चाहन्छौँ ।’ उनले आफूहरू भारत विरोधी नभएको र भारत विरोधी भनि प्रचार नगर्न आग्रह गर्दै भारतीय सरकारसँग केही असहमति रहे पनि भारतीय जनता र राजनीतिक दलहरूसँग भने राम्रो सम्बन्ध रहेको दावी गरे ।

सन् १९५० को नेपाल भारत सन्धि पुनरावलोकन गर्ने कुरा सकारात्मक रहे पनि यसको कार्यान्वयन हेर्न बाँकी रहेको उल्लेख गर्दै गजुरेलले पानी र विद्युतमा नेपालीको अधिकार रहने गरी सम्झौता हुँदा आफूहरूलाई कुनै आपत्ति नरहेको बताए । उनले भने, ‘हामी पनि नेपालको हितमा जलस्रोत सम्झौता होस भन्ने चाहन्छौं । पानी र विद्युतमा नेपालीको अधिकार स्थापित हुनु पर्छ । नेपाली जनता अझै लोडसेडिङको मारमा बस्नु पर्छ भन्ने हामी पनि चाहँदैनौं । यी विषयमा राष्ट्रिय सहमति गरेर अघि बढ्नु पर्छ । यसको लागि हामी तयार छौं ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही साउन १८ गते नेपालको औपचारिक भ्रमणमा आउँदै छन् ।


  •  
  •  
  •