सरकारसमक्ष नेकपा–माओवादीको संविधानसभा विघटनसहित १५ बुँदे माग

563
  •  
  •  
  •  

Mohan-Baidyaकाठमाडौं, २१ मंसिर (ओएनएस) : मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीले संविधानसभाको विघटनगरि सर्वपक्षीय राजनीतिकसभाको मागसहित १५ बुँदे ज्ञापनपत्र सरकारलाई बुझाएको छ । नेकपा–माओवादीले आइतबार प्रधानमन्त्री सुशील कोइरालालाई भेट्दै माओवादीले ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा भनिएको छ ‘ राष्ट्रिय सहमतिको लागि अविलम्ब सर्वपक्षीय राष्ट्रिय राजनीतिकसभाको आयोजना गरियोस् । दोस्रो संविधानसभाबाट उत्पीडित जातिहरूको पहिचानसहितको सङ्घीय गणतन्त्रात्मक संविधान निर्माणको सम्भावना देखिंदैन।’

दोस्रो संविधानसभा निर्वाचन बहिष्कारको क्रममा माओवादीका कार्यतकालाई लगाइएको मुद्दाहरू खारेज गर्नपनि माओवादीले माग गरेको छ । बृहत् शान्ति–सम्झौता पूर्ण कार्यान्वयन माग गरेको माओवादीले छानविन,सत्य निरुपण र मेलमिलाप आयोगसम्बन्धी आयोग बनाउदा सम्झौताका पक्षधरहरूका बीचको सहमतिको प्रक्रियाबाट मात्र ती कार्यहरू अविलम्ब अगाडि बढाउनपनि माग गरेको छ ।

माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत परियोजना सम्बन्धी सम्झौताहरू खारेज, सन् १९५० लगायतका नेपाल–भारतबीचका असमान सन्धिसम्झौताहरू खारेज, कालापानी लगायतका सीमावर्ती क्षेत्रमा नेपालको भूमिमाथि गरिएको अतिक्रमण बन्द गरी ती अतिक्रमित भूमि अविलम्ब फिर्ता हुने व्यवस्था गर्न पनि माग गरेको छ ।

जनयुद्ध तथा बिभिन्न आन्दोलनमा घाइते भएकाहरुको उचित ब्यवस्थापन गर्न, सुकुम्बासीहरूको पुनर्वासको व्यवस्थाका, बाढी पीडितहरूको निम्ति राहत र पुनर्वासको गर्न पनि माओवादीले माग गरेको छ ।

भ्रष्टाचारी माथि कडा कारवाही , महङ्गी नियन्त्रण वेरोजगार युवाहरूलाई रोगजार, रोजगारीको व्यवस्था नहुँदासम्म वेरोजगार भत्ता, क्रान्तिकारी भूमिसुधार लागू गर्न पनि उसको माग छ । यस्तै माओवादीले कृषिउपजको उचित मूल्य र बजारको व्यवस्था माग गरेको छ । यी माग पूरा नभए सबै प्रकारका आन्दोलनमा उत्रने पनि उसले चेतावनी दिएको छ ।


  •  
  •  
  •