वैदेशिक रोजगारः चार महिनाको अवधिमा २ सय ५१ ले ज्यान गुमाए

237
  •  
  •  
  •  

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चौमासिकमा वैदेशिक रोजगारका क्रममा २ सय ५१ जनाले ज्यान गुमाएका छन् ।

फाइल तस्बिर

ज्यान गुमाउनेमा आठ महिला र २ सय ४३ पुरुष छन् । गएको साउनमा दुई महिलासहित ५८ पुरुष, भदौमा दुई महिलासहित ५८ पुरुष, असोजमा ४७ र कात्तिकमा ८० जनाले ज्यान गुमाएका वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ ।

प्रथम चौमासिकमा बोर्डले प्रतिमृतक सात लाख रुपैयाँको दरले २ सय ५१ मृतकका हकवालालाई करिब १७ करोड ५७ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ ।

बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका कामदारको मृत्यु भएमा निजको नजिकको हकवालालाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।

बोर्डले प्रथम चौमासिकमा अंगभंग तथा बिरामी भएका १ सय १९ कामदारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । वैदेशिक रोजगार नियमावली, २०६४ ले करार अवधिभित्रै तथा करार अवधि समाप्त भएको एक वर्ष्भित्र कुनै कारणले अङ्गभङ्ग भएमा वा गम्भीर बिरामी भएमा बिरामीको प्रकृतिअनुसार अधिकतम सात लाखसम्म आर्थिक सहायता उपलब्ध गराउन सकिने व्यवस्था गरेको छ ।

सोही अवधिमा आठ कामदारका परिवारलाई औषधोपचार सहयोग उपलब्ध गराइएको बोर्डले जनाएको छ । कामदारको परिवारलाई सामान्य रोग लागेमा रु १५ हजार, सामान्य शल्यक्रिया गर्नुपर्ने भएमा ३० हजार रुपैयाँ र गम्भीर प्रकारको रोग लागेमा ५० हजार रुपैयाँ सहायता दिँदै आएको छ ।

पहिलो चौमासिकमा २ सय ५० मृतक कामदारको शव निःशुल्क ढुवानी गरिएको छ । सरकारले मृतक कामदारको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थायी घरठेगानासम्म निःशुल्क ढुवानी गर्दै आएको छ ।


  •  
  •  
  •