बहराइनबाट १ सय ४५ नेपाली स्वदेश फर्किए, सोही संख्यामा गए

66
  •  
  •  
  •  

काठमाडौं । कोरोना भाइरसका कारण बहराइनमा समस्यामा परेका १ सय ४५ जना नेपालीहरु स्वदेश फिर्ता भएका छन्। उक्त विमान मार्फत सोही संख्यामा नेपाली कामदार बहराइन फर्किएका छन् । बहराइनका लागि नेपाली राजदूतावासले नेपाल फर्कन चाहने १ सय ४५ जना नेपालीलाई विमान चार्टर  गरेर बिहीबार नेपाल ल्याएको हो ।

राजदूत पदम सुन्दास

कम्पनि बन्द भएर र श्रम सम्झौता सकिएर नेपाल फर्किने इच्छुकलाई नेपाल पठाइएको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

कोभिड–१९ पछि नेपाल जान फारम भरेका एक हजार ५ सय मध्ये ९ सय ८७ जना त्यसअघि र बिहीबार १४५ गरी अहिलेसम्म एक हजार १३२ जना नेपाल फर्किसकेका छन् । अब नेपाल फर्किन इच्छुक करिव ४ सय जनालाई पनि नेपाल पठाउने तयारी भइरहेको राजदूतावासले जनाएको छ ।

त्यसैगरी राजदूतावासले बिदामा बहराईनबाट नेपाल आएपश्चात फैलिएको कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान स्थगीत भई नेपालमै रोकिएर पुनः रोजगारीमा बहाल हुन बहराइन जान इच्छुक १ सय ४५ जना नै नेपालीलाई पहिलो पटक बहराइन फर्काएको राजदूत पदम सुन्दासले जानकारी दिए ।

मनामास्थित बहराइनका लागि नेपाली राजदूतावासले गत हप्ता अन्तर्राष्ट्रिय उडान स्थगीत भई नेपालमै रोकिएर पुनः रोजगारीमा बहाल हुन बहराइन जान इच्छुक २७४ नेपाली नागरिकको नामावली सार्वजनिक गरेको थियो । अहिले करिब ५० हजार संक्रमित छन । करिब पाँचसय जना नेपालीलाई संक्रमण भयो । यहाँ स्वास्थ्य व्यवस्था राम्रो भएकाले धेरै असर गरेन । कसैलाई कोरोना लाग्यो भने कडा निगरानी गरिन्छ ।

‘कोरोना शुरु भएपछि सानो लगानीका होटल रेष्टुरेण्टहरु बन्द भए, होटलहरु करिब—करिब बन्द भए, करिब १३ सय नेपालीले रोजगारी गुमाएका छन, हामीले समस्यामा परेकालाई तुरन्तै अप्रिल महिनामा नेपाल जान चाहेकालाई पठायौँ’ उनले भने, ‘अझै धेरै नेपाल जाने तयारीमा छन । छिटटै पठाउँछौं । नेपाली भोकै भएर दुःख पाएर बस्नु परेको छैन । हामीले रासनपानी उपलब्ध गराएका पनि छौँ । सम्पर्कमा आएकालाई उद्धार राहत तथा खानवस्नको व्यवस्था गरेर पठाएका छौँ ।’

नेपाल फर्किन चाहने नेपालीहरुलाई ‘हाम्रो साथ आमाको काख’ नामक अभियानले पनि सहयोग गर्दै आएको छ ।


  •  
  •  
  •