बागमतीको भेलमा नेताको र्‍याफ्टिङ

135
  •  
  •  
  •  

काठमाडौं १८ भदौ ।
बागमती सफा र स्वच्छ बन्दै गएको सन्देश दिन मंगलबार बागमतीमा मन्त्री, नेता, सरकारी कर्मचारी तथा कुटिनितिक नियोगका पदाधिकारीहरुले र्‍याफटिङ गरेका छन्।

भविष्यमा स्वच्छ र हरीयाली बागमती बनाउने भन्दै डेढ वर्षदेखि शुरु भएको बागमती सफाई अभियन पश्चात बागमती यतिबेला सफा बन्दै गैरहेको छ। सफाई अभियानलाई निरन्तरता दिन र आम नागरिकलाई बागमती नदी र आसपासमा फोहोर फाल्न हुन्न भन्ने सन्देश फैलाउन मन्त्री तथा विशिष्ट व्यक्तिहरुले मंगलबार र्‍याफ्टिङ गरेका हुन् ।

बागमती सफाई महाअभियान अन्तर्गत बागमतीलाई छिटो भन्दा छिटो सफा, स्वच्छ र हरीयाली बनाउने सन्देश दिँदै पूर्व प्रधानमन्त्री माधबकुमार नेपाल, कानुन मन्त्री नरहरि आचार्य, सहरी विकास मन्त्री नारायण खड्का सहित विभिन्न दलका नेताहरु त्था नेपाल सरकारका कर्मचारीहरुले गोठाटार पुलदेखि पशुपती क्षेत्रसम्म र्‍याफ्टिङ गरेका थिए।

विहान साढे सात बजे गोठाटारबाट शुरु भएको र्‍याफटिङ पशुपति क्षेत्रमा आएर सकिएको थियो । र्‍याफ्टिङ गर्नेहरुमा बागमती सफाई अभियानमा निरन्तर जुट्दै आएका मुख्य सचिव लिलामणी पौडेल, विभिन्न ९ वटा कुटनितिक निकायका प्रतिनिधिहरु, नेपाल प्रहरीका उच्च पदाधिकारीहरु, चिकित्सक, कलाकार, विद्यार्थीहरु सहभागी भएका थिए ।

र्‍याफटिङमा सहभागी सहरी विकास मन्त्री नारायण खड्काले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा अभियानका बारेमा चेतना फैलाउन र्‍याफटिङको आयोजना गरीएको बताए। उनले बागमतीलाई सुन्दरीजलदेखी चोभारसम्म र्‍याफटिङ गर्न सकिने बनाउन लागिएको जानकारी दिए। ‘तत्कालका लागि चोभारसम्म र्‍याफटिङ गर्न सम्भव नभए पनि निकट भविष्यमा हामी यस्लाई सम्भाव बनाउने छौँ,’ उनले भने, ‘यसका लागि सरकारले आवश्यक कार्य अगाडी बढाइसकेको छ ।’

मुख्य सचिव पौडेलले बागमतिलाई छिटो भन्दा छिटो सफा, स्वच्छ र हरीयाली बनाउने काममा सबैको सहयोगको आवश्यकता रहेको बताए । ‘एक्लो प्रयासले मात्र सफाई अभियान सफल हुन्न’ उनले भने, ‘बागमति भनेको हाम्रो पहिचान हो त्यसकारण यस्को सुधारका लागि सबै नागरीकको सहयोग चाहिन्छ ।’

११ वटा डुंगामा ८० भन्दा बढीले र्‍याफटिङ गरेको सफाई अभियानका प्रमुख अभियान्ता डा राजु अधिकारीले जानकारी दिए । उनका अनुसार बागमती सफाई अभियानमा विभिन्न संघसंस्था सहित बागमती आसपासका स्थानीयहरुको पनि उल्लेख्य सहभागीता रहँदै आएको छ । बागमतीमा र्‍याफटिङको व्यवस्था नेपाल नदी संरक्षण संस्था, अल्टिमेट डिसेन्स र माउन्टेन रिभर नामक संस्थाले गरेका हुन् ।

मंगलबारको र्‍याफटिङ कार्यक्रममा गोठाटार र नयाँ बस्ती आसपासका स्थानीय सहित विगत ३० हप्ता देखी निरन्तर सहभागीता जनाउँदै आएको पुडासैनी मैत्री समाज, हाम्रो जोरपाटी राम्रो जोरपाटीको पनि सहभागीता रहेको थियो । पुडासैनी समाजका सदस्य माधब पुडासैनीका अनुसार बागमती सफाई अभियानलाई सफल निरन्तर खटिरहेको समाजले हालसम्म बागमती फोहोर गर्ने ४० जना र बालुवा चोर्ने ४ जनालाई प्रहरीलाई बुझाइसकेको जानकारी दिए ।

यसअघि, बागमती स्वच्छ र सफा बन्दै गएको सन्देश दिन गुह्येश्वरीमा मुख्य सचिव पौडेल सहित प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरी बाँस्कोटा, शहरी विकास सचिव किशोर थापा, काठमाडौं महानगरपालिकाका प्रमुख लक्षमण अर्याल, बागमती सफाईका प्रमुख अभियान्ता राजु अधिकारी लगायत एक सय भन्दा बढीले सामुहिक स्नान गरेका थिए । नागरिकबाट


  •  
  •  
  •