बाग्मतीमा रसायन तथा ढल मिसावटमा प्रतिबन्ध गर्न माग

292
  •  
  •  
  •  

काठमाडौँ, ३ माघ । बाग्मती सफाइ अभियानको ८८ औँ शृङ्खलाअन्तर्गत आज कुलेश्वरस्थित नदी तथा फलफूल बजार आसपास क्षेत्रमा सरसफाइ गरिएको छ ।

बिहान भएको सरसफाइ कार्यक्रममा मुख्य सचिव लीलामणि पौड्याललगायत सरकारी कर्मचारी तथा वातावरणविद्, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, सर्वसाधारण तथा विद्यार्थीको उल्लेख्य सहभागिता थियो ।

सरसफाई कार्यक्रममा मुख्य सचिव पौड्यालले त्यस आसपास क्षेत्रको फोहर व्यवस्थापन गर्न अझै दुई साता लाग्ने बताउँदै त्यस क्षेत्रमा फोहोरले थुनिएको नदी सफाइ भएपछि एकनासले बग्न थालेको बताए ।

अभियानमा लामो समयदेखि क्रियाशील रहेका वातावरणविद् अल्का लम्सालले जबसम्म नदीमा जीव बाँच्ने र खेल्ने अवस्था सिर्जना हुँदैन, तबसम्म नदीलाई सफा मान्न नसकिने धारणा राखिन् । नदीमा रसायन तथा ढलको मिसावटमा प्रतिबन्ध लगाउनाका साथै नदी आसपास क्षेत्रको अतिक्रमणलाई रोकेर गिट्टी बालुवाको संरक्षण गर्नुपर्नेमा जोड दिइन् ।


  •  
  •  
  •