मानव साङ्लो बनाएर बागमतीको सफाई

395
  •  
  •  
  •  

काठमाडौं, २८ चैत (ओएनएस) : सरकारले सुरु गरेको बागमती सरसफाई महाअभियानले एकसय हप्ता पुरा गरेको अवसरमा आज मानव साङ्लो बनाएर बागमती सफा गरिँदैछ । बागमती नदिको दुवै किनारामा सुन्दरीजलदेखि चोभारसम्म २८ किलोमिटर क्षेत्रमा मानव साङ्लो बनाएर सफा गर्न लागिएको हो ।

तपाई आफैं आए मात्र सम्भव छ विशाल हातेमालो नाराका साथ मानव साङ्लो निर्माण तथा नदी किनारको सरसफाइ गर्न लागिएको मुख्य सचिव लीलामणी पौडेलले बताए ।

उनले भने, ‘नेपाल सरकारको नेतृत्वमा २०७० जेठ ५ बाट सुरु भएको बागमती सरसफाई महाअभियानको सयौं सप्ताहको अवसरमा लाखौं नागरिकको सहभागितामा मानव साङ्लो बनाउन लागेका हौं । यसले काठमाडौंबासी सबैलाई बागमती सरसफाइमा ऐक्यवद्ध बनाउँछ भन्ने विश्वास लिएका छौं । विहान साँढे ६ बजेबाट सुरु भएको कार्यक्रम ९ बजे सकिन्छ ।’

बागमती सरसफाइ महाअभियानमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, मुख्य सचिव लीलामणी पौडेल, केहि मन्त्री तथा मन्त्रालयका सचिवहरुको सहभागिता रहेको छ । गोकर्णदेखि चोभारसम्मका १४ स्थानलाई केन्द्र बनाएर मानव साङ्लो निर्माण गरिएको र त्यसको संयोजन मन्त्रालयका सचिवहरुले गरिरहेको मुख्य सचिव पौडेलले ओएनएसलाई बताए ।

सरसफाइ अभियानमा उपत्यकामा कार्यरत सबै सरकारी कर्मचारी, सुरक्षा निकायका प्रमुख, अधिकृत सहितका कर्मचारी, नागरिक समाज, राजनीतिज्ञ, विभिन्न सामाजिक संघ संस्थामा कार्यरत कर्मचारी, स्थानीय सर्वसाधारण लगायतको उल्लेख्य उपस्थिति रहेको छ ।

सफाईमा सहभागीले सपथ लिए
बागमती सरसफाइ महाअभियानमा सहभागीले बागमतीमा फोहोर नगर्ने सपथ लिएका छन् । ‘म मेरो बासस्थान र वरिपरि, कार्यस्थल र वरिपरी तथा नदीनालाहरु सफा राख्छु । बागमती नदीको स्वच्छता र पवित्रता कायम राख्न मन, वचन र कर्मले लाग्नेछु ।’ भनेर सरसफाइमा सहभागी सबैले प्रतिज्ञा गरेका हुन् ।

सरसफाइमा सहभागी हुनु अघि ‘हामी बागमती नदी सफा गर्छौं । हामी बागमती नदी सफा गर्न सक्छौं । हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?’ भनेर तीन तीन पटक सम्म नारा लगाउने छन् ।

त्यस्तै मानव साङ्लो बनाएपछि पनि ‘हामी बागमती फोहोर गर्दैनौं । हामी बागमतीमा फोहोर फाल्दैनौं । बागमतीमा फोहोर फाल्न पाइँदैन ।’ भनेर तीन तीन पटक नारा लगाउने कार्यक्रम रहेको मुख्य सचिव पौडेलले बताए ।

Arjun Karki and Bigyanraj Sharma
बुद्धनगर-ज्वागल पुलमा सरसफाइ अभियानको नेतृत्व गर्दै शहरी विकास मन्त्रालयका सचिव अर्जुन कार्की र नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्मा ।


  •  
  •  
  •