काठमाडौँ, ३१ साउन : प्रत्येक शनिबार गरिँदै आएको वागमती सफाइ आज पनि गरिएको छ । आज टेकुमा सरसफाइ गरिएको हो । २०७० जेठदेखि प्रत्येक हप्ता शनिबार गरिँदै आएको वागमती सफाइ आज ६५औँ हप्ता पनि सफाई गरिएको छ । आजको सरसफाइमा टेकुदोभानदेखि कालमोचनघाटसम्मको क्षेत्रमा विशेषरुपमा सरसफाइ गरिएको छ ।
आजको वृक्षरोपण कार्यक्रममा कपूर, साज, धूपी र पोलेनियाको गरी १५० वटा वृक्षरोपण गरिएको छ । आजको सरसफाइ १८ टन फोहोर सङ्कलन गरिएको नेपाल विज्ञापन व्यवसायी संघका अध्यक्ष राजकुमार भट्टराईले जानकारी दिए ।
आजको सरसफाइमा मुख्यसचिव लीलामणि पौडेल, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नारायणप्रसाद रेग्मी र सदस्यहरु शङ्कर थापा एवम् डिबी अर्याल, आयोजना प्रमुख गजेन्द्र ठाकुर, सहरी विकास मन्त्रालयका सहसचिव सुरेश आचार्य र कलाकार राजाराम पौडेललगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो ।
सरसफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, एपेक्स कलेज नयाँबानेश्वर र एलएसएस कलेज टेकुलगायतका सङ्घसंस्थाको संस्थागत उपस्थिति रहेको थियो ।