बागलुङ १ मा हुने संविधानसभा उपनिर्वाचनमा १३ उम्मेदवार

77
  •  
  •  
  •  

काठमडौं ८ चैत । बागलुङ क्षेत्र नं १ मा आगामी चैत २८ हुने संविधानसभा उपनिर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचार अभियान तीव्र बनाएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार उपनिर्वाचनमा १३ जनाले उम्मेदवारी दिएका छन्। ‘१० दल र ३ स्वतन्त्रले उम्मेदवारी दर्ता गराएका छन्,’ जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले भने, ‘उम्मेदवारी फिर्ता लिने समय सकिएको छ, कसैले उम्मेदवारी फिर्ता लिएनन्।’

तत्कालीन सभासद हरिबहादुर खड्काको सडक दुर्घटनामा परी निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। नेपाली कांग्रेसले उपनिर्वाचनमा उनैकी पत्नी चम्पादेवीलाई उम्मेदवार बनाएको छ। नेकपा एमालेले वैकल्पिक केन्द्रीय सदस्य मना केसीलाई उम्मेदवार बनाएको छ। एमाओवादीका तर्फबाट कृष्ण केसी उठेका छन्।

त्यसै गरी, राष्ट्रिय जनमोर्चाले नेत्रबहादुर बुढाथोकी, नेकपा मालेले कुलबहादुर किसान, राप्रपा नेपालले नवीनचन्द्र शेर्पुजा, संघीय समाजवादीले रेशम थापा मगर, नेपाल परिवार दलले बाबुराम शर्मा, राष्ट्रवादी एकता पार्टीले क्षेत्रप्रताप थापा, राष्ट्रिय जनमुक्तिका रुद्रबहादुर पुनलाई उम्मेदवार बनाएका छन्। नैनाकुमारी थापा, तुलसी थापा र सरस्वती पन्तले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगले उम्मेदवारहरूलाई आइतबार निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ।

सबै दल तथा उम्मेदवारले ले गाउँगाउँमा चुनावीसभा, घरदैलो भेटघाट, पर्चा वितरण, माइकिङमार्फत प्रचार गरिरहेका छन्। उनीहरू सामाजिक सञ्जाल फेसबुकलाई पनि चुनाव प्रचारको माध्यम बनाएका छन्। हरेक दलले केन्द्रीय नेताको उपस्थितिमा सभा गर्दै उम्मेदवारलाई भोट माग्ने गरेका छन्।

गत निर्वाचनमा नेपाली कांग्रेसका खड्का १३ हजार ५ सय मत प्राप्त गरी विजयी भएका थिए। निकटतम प्रतिद्वन्द्वी एमालेका हीराबहादुर केसीले ११ हजार ९ सय ६३ मत प्राप्त गरेका थिए। तेस्रो स्थानमा रहेका एमाओवादीका कृष्ण केसीको ६ हजार ३ मत थियो।

गत निर्वाचनमा ४७ हजार ८ सय ८० मतदाता रहेको यस क्षेत्रमा अहिले ५० हजार ८ सय मतदाता छन्। आयोगले विद्युतीय मेसिनबाट मतदान गर्ने व्यवस्था मिलाउने भएको छ। निर्वाचन कार्यालयले सहजकर्तामार्फत मतदाता शिक्षा प्रदान गरेको छ। नागरिकबाट


  •  
  •  
  •