बाग्लुङ १ उपनिर्वाचनमा कस्को पल्ला भारी ?

193
  •  
  •  
  •  

congressकाठमाडौ, २३ चैत(ओएनएस) : बाग्लुङ–१ को उपनिर्वाचन चैत २८ गते शनिबार हुँदैछ । निर्वाचन आयोगले बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ । विद्युतीय मेसिनबाट मतदान हुनेछ । सभासद हरिबहादुर खड्काको दुर्घटनामा निधन भएपछि त्यस ठाउँमा चुनाव हुन लागेको हो ।

राजनीतिक दलहरूले विकास निर्माणलाई मुख्य एजेन्डा बनाएका छन् । डोजर ल्याएर बाटो खनेकोदेखि विद्युत आयोजनासम्म आफूले निर्माण गरेको दावी उनीहरुले गरेका छन् । भविष्यका लागि पनि यस्तै आश्वासन दिइरहेका छन् ।

१० वटा राजनीतिक दल र ३ स्वतन्त्र उम्मेदवार रहेका छन् । निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवार सूचीअनुसार, एमालेबाट मनकुमारी केसी जीसी, एकीकृत नेकपा माओवादीबाट कृष्णबहादुर केसी, राप्रपा नेपालका नवीनचन्द्र सर्बुजा थापा, कांग्रेसबाट चम्पादेवी खड्का चुनावी मैदानमा छन् ।

यसैगरी नेकपा मालेका कुलबहादुर किसान, नेपाल परिवार दलका बाबुराम शर्मा, राष्ट्रिय जनमुक्ति पार्टीका रुकबहादुर पुन, राष्ट्रिय जनमोर्चाका नेत्रबहादुर बुढाथोकी, संघीय समाजवादी पार्टी नेपालका रेशम थापामगर, राष्ट्रवादी एकता पार्टीका क्षेत्रप्रताप थापा उम्मेदवार छन् । तुल्सी थापा, नैनकुमारी केसी र सरस्वती पन्त स्वतन्त्र उम्मेदवार छन् ।

उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धाचाहिँ नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा रहेको छ । कांग्रेसले दिवंगत सभासद हरिबहादुर खड्काप्रतिको सहानुभूतिलाई आफ्नो विजयको मुख्य आधार ठानेको छ भने एमालेले उम्मेदवारको योग्यतालाई ।

chamdeviकांग्रेसले दिवंगत सभासद खड्काकी श्रीमतीलाई उम्मेदवार बनाएको छ । हरिबहादुर खड्काले स्थानीयस्तरमा बनाएको संगठन, उनको मिजासिलो स्वभाव र सक्रियताप्रतिको सम्मान र सहानुभूतिका रुपमा यसपालिको मतदान हुने कांग्रेस कार्यकर्ताहरुको विश्वास छ । त्यसैले कांग्रेस उम्मेदवार चम्पादेवी विजयी हुने उनीहरुको दाबी छ । कांग्रेसका युवा नेता जितबहादुर शेरचन भन्छन्, ‘चम्पादेवी दिवंगत नेताको पत्नी मात्र होइन । कुशल गृहिणी, असल आमा र पार्टीप्रति समर्पित कार्यकर्ता पनि हुनुहुन्छ । उहाँको इमानदारिता र समर्पणबिना हरिबहादुर खड्का पनि राजनीतिमा त्यो उचाइ लिनुहुन्थेन । छोराहरु पनि अमेरिका गएर पीएचडी लिने हैसियतमा पुग्दैनथे । यो कुरा बुझेर यहाँका मतदाताले भोट दिनेछन् ।’

शेरचनकै भनाइमा, कांग्रेसले आफ्नो मुख्य प्रतिस्पर्धी एमालेलाई ठानेको छ । अहिले स्थानीय कांग्रेस नेताहरुमा एकताको भावना रहेकाले पनि जित सुनिश्चित भएको शेरचनको भनाइ छ । उनी भन्छन्, ‘अघिल्लो चुनावमा मनैदेखि खट्ने कम थिए । तैपनि फराकिलो अन्तरले जितेका हौँ । अहिले त सबैको एक भावना छ ।’

man kumariएमाले नेताहरू भने बाग्लुङको सबैभन्दा सचेत र शिक्षित जनसमुदाय रहेको क्षेत्र भएकाले कसैप्रति सहानुभूति वा क्षतिपूर्तिको भावनाले नभई योग्य उम्मेदवार चयनको आकांक्षाका साथ मतदान हुने भएकाले जित आफ्नो पक्षमा हुने दाबी गर्छन् । एमाले युवा नेता इन्द्रलाल सापकोटा भन्छन्, ‘निर्वाचनको अहिलेसम्मको माहौलका आधारमा १५ सय देखि २ हजार मतको अन्तरले जित्छौँ ।’ उनले एमाले जित्ने मुख्यतः तीन आधार प्रस्तुत गरे । एक, यो क्षेत्रमा एमाले सांगठनिक हिसाबले मजबुत छ । दुई, विपक्षी उम्मेदवार खाली सहानुभूतिको खोजीमा मात्र लागेको र कुनै विकास, निर्माण र राजनीतिक दृष्टिकोण नभएको । तीन, एमाले उम्मेदवार मनकुमारी केसी जीसीको पृष्ठभूमि, योग्यता, सक्रियता र लोकप्रियता ।

सापकोटाको दावीअनुसार, विपक्षी उम्मेदवार चम्पादेवी कुशल गृहिणी भए पनि नेता बन्न सम्भव छैन र यस्तो प्रतिनिधिबाट विकास निर्माणको कामको अगुवाई गर्न सम्भव छैन भन्ने मनोविज्ञान मतदातामा रहेको छ । सापकोटा भन्छन्, ‘हाम्रो उम्मेदवार गाउँको तल्लो तहदेखि राजनीतिका उच्च ओहोदासम्म उत्तिकै पहुँच र घुलमिल भएको व्यक्ति हो । निस्वार्थ समाजसेवा, स्पष्ट राजनीतिक दृष्टिकोण र शिक्षित व्यक्तित्व भएकाले यसपालि मनकुमारी केसीलाई जिताउनुपर्छ भन्ने माहौल जिल्लाभरि नै बनेको छ ।’

कांग्रेसले बामपन्थीमुक्त नारा लगाएकाले पनि त्यसको फाइदा आफूलाई पुग्ने एमाले नेताहरुको विश्लेषण छ । एमाओवादी र जनमोर्चाको कमजोर उम्मेदवार रहेकाले सबै बामपन्थी भोट आफूलाई आउने एमालेको बुझाइ छ । ग्रामीण क्षेत्रमा शिक्षण, समाज सेवा, विकास निर्माण र नारी सशक्तिकरणको अभियानमा सक्रिय भएकाले पनि एमाले उम्मेदवार बलियो रहेको एमालेको दाबी छ ।


  •  
  •  
  •