बागलुङ जीप दुर्घटनाः मृतकको सामूहिक दाहसंस्कार

510
  •  
  •  
  •  

काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका–७ अल्छीबाङमा मंगलबार भएको जीप दुर्घटनामा मृत्यु भएकाको सामूहिक दाहसंस्कार गरिएको छ ।

उनीहरुको इस्मा गाउँपालिका–४ दोहोली र पाँच रजस्थलका १० जनाको सामूहिक दाहसंस्कार गरिएको हो । दुर्घटनामा मृत्यु भएका इस्मा–४ का ४० वर्षीय महेन्द्र कार्की, २५ वर्षीया सूचना कार्की, ४० वर्षीया सीता कार्की, ६५ वर्षीय झवि कार्की, ४५ वर्षीय भुमि कार्की, २५ वर्षीया मीना बस्नेत, ६५ वर्षीय धनबहादुर कार्की र दुई वर्षीया अनुस्का कार्कीको दाहसंस्कार गरिएको छ । त्यस्तै सोही गाउँपालिका वडा नं ५ की ४० वर्षीया बवसुन्धरा कार्की र २३ वर्षीया माया थापाको पनि सामूहिक दाहसंस्कार गरिएको छ ।

जीपमा १८ जना यात्रु सवार रहेकामा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । अन्य घाइतको भने उपचार भइरहेको छ ।

मृतक बडिगाड–५ की ५५ वर्षीया लक्ष्मी केसीको शव आफन्तले गाउँमै बुझेर दाहसंस्कार गरेका छन् । इस्मा–४ का गाडी चालक २५ वर्षीय रेशम थापाको शव मंगलबार नै परिवारले बुझेका थिए । उनको निस्ती दोभानमा बुधबार बिहान दाहसंस्कार गरिएको छ । त्यस्तै नवलपरासी बर्दघाट नगरपालिका–२ की ६० वर्षीया मुना कार्कीको शव नवलपरासी लगिएको छ ।

दुर्घटनामा परेका इस्मा–४ दोहोलीका धनबहादुर कार्की भने अझै वेपत्ता छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते नवलपरासी बर्दघाट–२ का १८ वर्षीय जीवन कार्की, गुल्मी इस्मा गापा–४ का चार वर्षीय हिमाल कार्की र २४ वर्षीया निमा केसीको उपचार भइरहेको छ ।

उनीहरुलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको थियो । अहिले त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको छ ।


  •  
  •  
  •