काठमाडौ, १३ माघ (ओएनएस) : नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेशी मोर्चाका नेताहरुसँग वार्ता गरिसकेको जानकारी दिँदै भोलिबाटै प्रधानमन्त्रीले द्विपक्षीय, त्रिपक्षीय र वान टु वानवार्ता गर्ने स्पष्ट पारेका छन् ।
राजधानीमा मंगलबार भएको एक कार्यक्रममा नेता बडुले संविधान सडकबाट नभई संवाद र प्रक्रियाबाट बन्ने भन्दै एमाओवादीले संविधानसभाबाट संविधान बनाउन चाहेको हो भने आन्दोलन छाडेर वार्ता तथा संवादमा आउनुपर्ने बताए ।
बडुले भने–‘प्रधानमन्त्रीले वार्ताको प्रारम्भ गरिसक्नुभएको छ, उहाँले हिजोबाटै टेलिफोनमा शिर्ष नेताहरुसँग संबाद गरिसक्नु भएको छ, अब भोलिबाटै उहाँले थप वान टु वान वार्ता तथा छलफल गर्दै हुनुहुन्छ मलाई आशा छ उहाँको वार्ताले सार्थक निश्कर्ष निकाल्छ र दलहरु पूनः सम्वाद, सहमति र एकताबाटै अघि बढ्ने वातावरण बन्नेछ ।’
नेता बडुले प्रक्रिया प्रारम्भ भैसकेको भन्दै प्रक्रियाबाट अब पछि हट्ने अवस्था नरहेकोले विपक्षीसँग प्रक्रिया र सम्वादलाई सँगसँगै लिएर संविधान जारी गर्ने विश्वास व्यक्त गरे ।
एमाओवादी संसदीय दलको उपनेता टोपबहादुर रायमाझीले सत्तारुढ दलहरुले प्रक्रियाको तरवार आफूहरुको घाँटीमा राखेर वार्ताको कुरा गर्नु हास्यास्पद भएको बताए ।
उनले सत्तारुढ दलहरुले मोर्चा बन्दी गरेर ९ बुँदे साझा प्रस्ताव ल्याएपछि आफूहरु मोर्चा बन्दी गर्न बाध्य भएको दाबी गर्दै बहुमतले संविधान जारी गर्ने भए २०४७ सालकै संविधान थियो नि भनि प्रश्न समेत गरे ।
नेकपा एमालेका सचिवप्रदिप ज्ञावलीले प्रचण्डले आज एउटा कुरा गरेर पार्टीमा छलफल गर्छु भनेर जाने र भोली फर्किदा मिलाउन सकिन भनेर जवाफ दिने गरेको उल्लेख गर्दै प्रचण्डलाई फाईनल कुरा गर्न सक्ने हैसियत राख्न सुझाव दिएका छन् ।
ज्ञावलीले संविधान बनाउनै भनेर आफूहरुले उच्चस्तरीय राजनीतिक समितिको संयोजक प्रचण्डलाई बनाएको, द्धन्दकालमा कब्जा गरेको जग्गालाई बैद्यता दिएको र संबाद समितिको संयोजकमा डा बाबुराम भटट्राईलाई निर्वाचित गरेको स्पष्ट पार्दै छ–छ पटक सम्म समय दिँदा समेत सहमति जुटाउन नसकेपछि संविधानसभा अध्यक्षले संविधान सम्मत रुपमा माघ ११ गतेको बाध्यात्मक कदम चालेको जिकिर गरे ।