बढी बच्चा जन्माउने महिलालाई बढी रकम दिने नगरपालिकाकाे निर्णय विरुद्ध महिलाअधिकारकर्मी

236
  •  
  •  
  •  

काठमाडौं, १४ चैत (ओएनएस) : इलाममा बढी बच्चा जन्माउने महिलालाई बढी रकम दिने नगरपालिकाकाे गरेकाे निर्णय विरुद्ध महिलाअधिकारकर्मीहरु उत्रेका छन्। इलाम नगरपालिकाले बढी बच्चा जन्माउन उक्साएको भन्दै महिलाअधिकारकर्मीहरुले विरोध शुरु गरेका छन् ।

नेपाल महिला संघलगायतका महिला अधिकारवादीले यसको खुला रुपमा विरोध गरेका हुन्। नगरपालिकाले इलाम नगरभित्र जनसंख्या वृद्धि गर्न र स्तरोन्नति गरी उपमहानगरपालिका बनाउने भन्दै बढी बच्चा जन्माउने महिलालाई बढी रकम उपलब्ध गराउने केही दिन अघि निर्णय गरेको थियो ।

नेपाल महिला संघले पत्रकार सम्मेलनकाे अायाेजना गरी यो निर्णय महिलाका लागि स्वीकार्य नहुने बताएकाे छ।महिला संघ इलामकी अध्यक्ष निर्मला सञ्जेलले महिलालाई बच्चा जन्माउने मेसिनमात्र नसम्झन नगरपालिकालाई आग्रहगर्नुका साथै चेतावनीसमते दिएकी छिन्

पत्रकार सम्म्लनमा अध्यक्षा सञ्जेलले भनिन्,’नगरपालिकाकाे याे निर्णयले गरीबलाई अझ गरीब बनाउने, अशिक्षितको संख्या वृद्धि हुने’

नगरपालिकाका प्रमुख पुरुष भएकाले यस्तो निर्णय भएको भन्दै महिलालाई होच्याउने कार्य भएको महिला संघको ठहर छ ।

नगरमा भौतिक पूर्वाधार, सडक, स्वच्छ र पर्याप्त पिउने पानीको अभाव, स्वास्थ्य शिक्षा, व्यवस्थित बसोबासलगायतका कुरामा इलाम नगरपालिका कमजोर भएका अवस्थामा यस्तो निर्णय गरिनु लज्जास्पद भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो निर्णय सात दिनभित्र नसच्याए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ । यस निर्णयको सार्वजनिक सञ्जालमा समेत चर्को आलोचना हुँदै आएको छ ।


  •  
  •  
  •