हेलम्बु भीमथाङमा पहिरोपछि नदी थुनिएर बाढी आएको अनुमान(तस्बिरसहित)

159
  •  
  •  
  •  


काठमाडौं । सिन्धुपाल्चोक हेलम्बुको भीमथाङमा मेलम्ची नदी थुनिएर बाढी आएको अनुमान गरिएको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार भीमाथाङमा पहिरो गएर मेलम्ची थुनिएपछि बाढी आएको हुनसक्छ। आइतबार बिहान हेलिकोप्टरबाट गरेको निरीक्षणपश्चात उनले सो कुरा बताएका हुन् ।

पहिरो कहिले गएको र कति समयसम्म मेलम्ची थुनियो भन्ने एकिन छैन । तर हेलिकोप्टरबाट लिइएका केही तस्बिरमा हेर्दा भीमाथाङमा पहिरो गएको दृश्य देखिएका छन् ।

मेलम्ची थुनिएपछि पानीको बहाब बढेर फुट्दा एकैपटक तटीय क्षेत्रमा बाढी आएको हुनसक्छ । ठूलो वर्षा नहुनु, तर एकैपटक ठूलो बाढी आउनुले माथिल्लो भेगमा मेलम्ची थुनिएर एकैपटक पानीको बहाब आउँदा बाढी आएको अनुमान गरिएको ग्याल्जेनले बताए ।
यसैबीच शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ । ती मध्ये नौ पक्की र आठ कच्ची रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गएरातिको बाढीले बगाएको हो । ती घरटहरा खाली थिए । बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितले दिएका जानकारी अनुसार वाढीले आज विहान पुल बगाएको हो । मेलम्ची ७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एकमात्र विकल्पका रुपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यो भेगमा सवारी आवतजावत बन्द छ ।
त्यस्तै ग्यालथुममा रहेको झोलुङ्गे पुल पनि बाढीले बगाएको छ । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ ।

 

तस्बिरहरूःहेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा फेसबुकबाट


  •  
  •  
  •