बाढीपहिरोले देशैभरिका सडक अवरुद्ध( हेर्नुहोस् कुन-कुन सडक अवरुद्ध ?)

203
  •  
  •  
  •  

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशभरको सडक अवरुद्ध भएको छ ।

काठमाडौं जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । धादिङ र चितवनको सीमामा पर्ने मौवा खोलाको पुल बाढीले बगाएपछि सडक अवरुद्ध हाे ।

मौवा खोला पुल

सडक विभागका अनुसार नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, मलेखु धादिङबेसी सडकखण्डको परेवाटार, बाँके धन्सार सडकखण्डको चपुरदेखि झण्डै ३ किलोकिमर पूर्वको जुडिवेला कजवेमा र सिद्धिचरण राजमार्गको सिस्नेरी भिर र साल्मे भिरमा पनि पहिरो खसेपछि बाटो अवरुद्ध भएको छ ।

यस्तै सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको गौडे पुलमा पहिरो खसेको तथा बेनी जोमसोम कोरोला सडकखण्ड अन्तर्गत म्याग्दीको काभ्रेभिर, दाना, गलेश्वर र म्याग्दीकै घोप्टेभिरमा पहिरोले बेलिब्रिज बगाउँदा सडक अवरुद्ध भएको छ ।

कान्ति लोकपथको घट्टे पख, बाग धारा, शिलालेख र छपेलीमा, साँफेबगर मार्तडी सडकको अम्कोट द्धावारी खण्ड तथा बेसीशहर चामे सडक अन्तर्गतको घोप्टे खोला, रामबजार र च्याम्चेमा खसेको पहिरो खसेकाले सडकखण्डमा गाडी चल्न सकेको छैन ।

अरनिको राजमार्ग पनि बाढीपहिरोले अवरुद्ध छ। यो सडकखण्डमा पर्ने माथिल्लो भोटेकोशी ड्याम, डाकलांग, चाकु, झ्याले, जबमु, खग्दोल, सिरिशे र खुर्सानीबारीमा खसेको पहिरोले बाटो नै बगाएको सडक विभागले जनाएको छ।

राजधानी काठमाडौंलाई हेटौंडासँग जोड्ने छोटो मार्ग बल्खु कुलेखानी हेटौँडा र कान्ति लोकपथ पनि बाढीपहिरोको कारण अवरुद्ध छन्। मकवानपुरको इन्द्रसरोवर गाउँपलिकाका विभिन्न ठाउँमा पहिरो जाँदा वर्खा लागेदेखि नै बल्खु हेटौँडा सडक भएर निर्वाध गाडी चल्न सकेका छैनन्।

त्यसैगरी विपी राजमार्ग पनि पहिरोले अवरुद्ध छ। सिन्धुलीको कमेरेफाँटमा पहिरो जाँदा यो सडकमा गाडी चल्न नसकेका प्रहरीले जनाएको छ।

त्यसैगरी कोसी राजमार्ग, कर्णाली राजमार्ग, सिद्धिचरण राजमार्ग, सिद्धार्थ राजमार्ग, स्याफ्रु-रसुवागढी, बेसिशहर चामे सडक पनि ठाउँठाउँमा पहिरो खसेका कारण अवरुद्ध बनेका छन्।

लामोसाँधु बाह्रबीसे सडक सुनकोसी नदीले एक सय मिटर बगाएको छ। त्यसैगरी पूर्वपश्चिम राजमार्गमा पर्ने रौतहटको चन्द्रनिगहापुर नजिक जुडबेला, नवलपरासीको गैँडाकोट लगायतका ठाउँमा पनि बाढीका कारण सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ।

सडकको अवस्थाबारे थाहा पाउन यो लिंकमा क्लिक गर्नुहोस् ।


  •  
  •  
  •