बाढीको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह

86
  •  
  •  
  •  

काठमाडौं । आज देशका विभिन्न स्थानमा रहेका नदीमा बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन समेत आग्रह गरेको छ । विभिन्न ठाउँमा पानी परिरहेकाले बुधबारसम्म नै बाढीको जोखिम रहेको भन्दै महाशाखाले नदी आसपासका बासिन्दालाई भोलिसम्म नै सतर्क हुन अनुरोध गरेको हो । महाशाखाका अनुसार कोशी, बागमती, नारायणी, पूर्वी राप्ती, रिउखोला, आरूण, तिनाउ, बाणगंगा, मनहरी, लोथरखोला, लालबकैयालगायतका नदीमा बाढीको जोखिम छ ।

यस्तै मकवानपुर बारा, पर्सा, चितवन, नवलपरासी, रूपन्देही, कपिलवास्तु, दाङ भएर बहने नदी आसपासका बासिन्दालाई बुधबारसम्म नै उच्च सतर्क हुन महाशाखाले आग्रह गरेको छ ।

यस्तै, कोशी नदी चतरामा जलसतहले सतर्कता तह पार गरेको छ । त्यहाँ पानीको सतह खतरा तह आसपास पुग्न सक्ने संभावना रहेकाले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा बेलुकी सम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।


  •  
  •  
  •