‘बाढी समस्या समाधान गर्न भारतसँग सहकार्य आवश्यक’

232
  •  
  •  
  •  

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा प्रत्येक वर्ष वर्षाका कारण बाढीबाट ठूलो जनधनको क्षति हुने गरेको भन्दै उक्त समस्या समाधानका लागि भारत सरकारसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा मंगलबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ‘पानीको समस्या नेपालको मात्रै नभई भारतको समेत रहेकाले दुवै देशका सरकारले समन्वय गरेर अगाडि बढ्नुपर्छ ।’
उनले यसका लागि नेपाल सरकारले पहल पनि गरेको बताए ।

भारततर्फ सीमामा बन्ने तटबन्ध तथा बाँधका कारण सबभन्दा बढी समस्या प्रदेश २ मै हुने गरेकोले सरकार यहाँको समस्या समाधानका लागि गम्भीर रहेको बताए।

यस वर्ष आएको बाढीबाट हुन सक्ने ठूलो जनधनको क्षति रोक्न सम्बन्धित निकायहरूले समयमै तदारूकता देखाएकोप्रति अध्यक्ष दाहालले खुसी व्यक्त गरेका थिए ।

उनले छिट्टै प्रधानमन्त्रीसहित आफू पनि प्रदेश २ को आठै जिल्ला भ्रमण गर्ने कार्यक्रम रहेको बताउँदै यहाँको विकासका लागि ठूलै प्याकेज दिन सरकार तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले विपदमा राजनीति नगर्न सबै पक्षलाई आग्रह गरे ।

उनले विपद व्यवस्थापनका लागि नेपाल सरकार गम्भीर रहेको बताउँदै आफूहरूले समेत यसका लागि सरकारमाथि दबाब बनाउँदै आइरहेको जानकारी गराए ।


  •  
  •  
  •