बाढी, पहिरो र डुवानबाट साढे चारलाख मानिस प्रभावित

524
  •  
  •  
  •  

काठमाडौं । बाढी, पहिरो तथा डुवानबाट देशका विभिन्न जिल्लाका ९० हजार घरपरिवारका करीब चार लाख ५२ हजार मानिस प्रभावित भएका छन् ।

नेपाल रेडक्रस सोसाइटीले प्रारम्भिक अनुमान अनुसार बाढी, पहिरो तथा डुबानबाट बढी प्रभावित ३२ जिल्लामा संकलन भएका प्रारम्भिक तथ्यांकले ४० हजार घरमा क्षति पुगेको जनाइएको छ ।

आफ्ना तालिम प्राप्त स्वयंसेवकबाट प्रभावितका खोज, उद्धार तथा राहत वितरणका साथ प्रभावितको तथ्यांक संकलन कार्य द्रुतरुपमा जारी रहेको विपद् व्यवस्थापन निर्देशक मोना अर्यालले जानकारी दिएकी छन् ।

तत्काल ओत लाग्न प्रभावित परिवारलाई एक हजार ६ सय ६२ तारपोलिन तथा ३ सय १० परिवारलाई राहतको पूर्ण सेट वितरण गरिसकिएको र वितरण कार्य जारी रहेको उनले जानकारी दिइन् ।

प्रभावित क्षेत्रमा ३ सय ७४ जना तालिम प्राप्त तथा अन्य स्वयंसेवक परिचालन भइरहेका छन् । प्रदेश नं २ का सिरहा, सप्तरी, रौतहट, महोत्तरी, सर्लाही, मोरङ र धनुषामा प्रारम्भिक द्रुत सर्वेक्षण जारी रहेको छ । ती जिल्लामा राष्ट्रिय विपद् प्रतिकार्यका एक एकजना विशेषज्ञले काम गरिरहेका छन् ।

प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन पानी शुद्धिकरण र सर्पदंशबाट बच्ने उपायका बारेमा सन्देश दिने काम भइरहेको रेडक्रसले जनाएको छ ।


  •  
  •  
  •