गोलमेचबाट किन भाग्यो वैद्य माओवादी?

95
  •  
  •  
  •  

काठमाडौं १ असोज ।
संविधान निर्माणका लागि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले ‘सर्वपक्षीय राजनीतिक सम्मेलन’ को माग राख्यो, तर जब सरकार आयोजना गर्न तयार भयो, वैद्य माओवादी नै अनुपस्थित भइदियो। परिणाम सर्वपक्षीय राजनीतिक सभा नै रद्द भयो। आखिर आफैंले माग गरेको एजेन्डाबाट वैद्य माओवादी किन टाढियो?

 एमाले नेता शंकर पोखरेलको भनाइमा ‘जे उद्देश्यका लागि माग गरेका थिए, त्यो पूरा नहुने भएपछि वैद्य माओवादी सर्वपक्षीय सभामा अनुपस्थित भएको हो।’

गोलमेच सम्मेलन वा सर्वपक्षीय राजनीतिक सम्मेलनका नाममा वैद्य माओवादीले संविधान निर्माण प्रक्रिया र एजेन्डालाई संविधानबाहिर तान्न चाहेको बताउँदै पोखरेलले भने, ‘त्यो मिसन पूरा नहुने देखेपछि सर्वपक्षीय सभामा सामेल हुन चाहेन।’
राजनीतिक विश्लेषक नीलाम्बर आचार्यको तर्क उस्तै छ। ‘गोलमेच सम्मेलनबाट संविधानका अन्तर्वस्तुमा निर्णय गर्ने भए संविधानसभाको के काम? गोलमेच सम्मेलनले निर्णय नगर्ने भए वैद्य माओवादीको उपस्थितिको के अर्थ?’ आचार्यले भने, ‘वैद्य माओवादीले गोलमेच सम्मेलनबाट संविधानका विषयमा कुनै निर्णय हुने देखेनन्, त्यसैले गएनन्।’

नेकपा–माओवादी प्रवक्ता पम्फा भुसालले ‘सरकारले कर्मकाण्डीय शैलीको राजनीतिक सभा गर्न खोजेकाले’ आफूहरू सहभागी नभएको बताइन्। ‘हामीले राष्ट्रिय राजनीति र संविधानका अन्तर्वस्तुमा राजनीतिक सहमति गर्न खोजेका थियौं, तर सरकारले जनमत संकलनका लागि झैं बोलाएका कारण हामी सहभागी भएनौं,’ भुसालले भनिन्।

वैद्यले पनि विज्ञप्ति जारी गर्दै सर्वपक्षीय सम्मेलनबाट आफ्नो माग पूरा नहुने देखेर सहभागी नभएको जिकिर गरेका छन्। ‘शाब्दिक रूपमा सर्वदलीय सम्मेलन गर्ने भनिए पनि त्यसको कार्यसूची, क्षेत्राधिकारलगायत विषयमा सत्तारूढ दल सहमत भएनन्। सर्वदलीय सम्मेलनलाई संविधानको विषयमा मात्र सीमित राख्ने, त्यसमा पनि दलहरूबाट रायसल्लाह र सुझाव लिने प्रकृतिको बनाउने, सम्मेलनबाट कुनै पनि राजनीतिक निर्णय लिन नसक्ने, सम्मलेनको पूर्वतयारी, कार्यसूची र मोडालिटीबारे चार दलको बीचमा कुनै पनि लिखित सहमति गर्न नसकिने सत्तारूढ दलहरूद्वारा भनिएपछि उक्त सम्मलेनको कुनै अर्थ र औचित्य देखिएन,’ वैद्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अतः भदौ ३१ गते सरकारद्वारा आयोजित सर्वदलीय सम्मेलनमा हाम्रो पार्टीलगायत ३३ दलीय मोर्चा सहभागी नहुने निर्णय गरिएको छ।’

गफसपको सम्मेलनमा मात्रै आउने चाहना वैद्य माओवादीमा नभएको बताउँदै विश्लेषक आचार्यले भने, ‘नतिजा ल्याउन होइन, संविधान निर्माण प्रक्रियालाई धक्का दिन मात्रै उनीहरूले यो एजेन्डा अघि सारेका हुन्। त्यसमा सामान्य सहभागी भएर यो मिसन पूरा नहुने देखेकै कारण सहभागी भएनन्।’
सभाबाट आफ्नो मिसन पूरा नहुने देखेर वैद्य माओवादी सभामा अनुपस्थित हुनुमा पार्टीभित्रैको अन्तर्द्वन्द्व पनि जिम्मेवार रहेको स्रोतहरूले बताएका छन्। संविधान निर्माण एजेन्डालाई संविधानसभाभन्दा बाहिर तान्न पार्टीभित्र एक मत भए पनि पार्टी विभाजनको औचित्य प्रमाणित गर्न नसकिरहेको अवस्थामा ‘फेस सेभिङ’ का लागि सर्वपक्षीय सम्मेलनमा जाने र नजानेमा अन्तर्द्वन्द्व रहँदै आएको थियो।

पार्टी महासचिव रामबहादुर थापा र उनीनिकट नेताहरू सर्वपक्षीय सम्मेलनमार्फत ‘हस्तक्षेप’ गर्नुपर्ने पक्षमा थिए भने सचिव नेत्रविक्रम चन्द यसप्रति अनिच्छुक रहेको स्रोतको भनाइ छ। कांग्रेस र एमाले पनि सर्वपक्षीय सम्मेलनमार्फत लिखित सहमति गर्न चाहँदैनथे। संविधानसभामा संविधानका विवादित विषय सहमतिउन्मुख रहेको र आफ्नो पक्षमा दुईतिहाइ बहुमत रहेका कारण पनि उनीहरू वैद्य माओवादीसँग लिखित सहमति गर्न तयार देखिएनन्। यो पृष्ठभूमिमा सर्वपक्षीय सम्मेलनमार्फत कुनै उपलब्धि नहुने देखिएपछि नेकपा–माओवादीभित्र चन्द पक्ष हाबी भएको र अन्तिम समयमा माओवादीले निर्णय परिवर्तन गरेको स्रोतको भनाइ छ।
‘सरकार र वैद्य माओवादी दुवै नहुने अभ्यासमा लागेका थिए, त्यसैले सर्वपक्षीय सम्मेलन हुन सकेन,’ विश्लेषक आचार्यले भने, ‘संविधान निर्माणका काम नै संविधानसभाले सरकारलाई दिएजस्तो देखियो। यो प्रक्रियासम्मत हिसाबले राम्रो देखिएको थिएन।’नागरिकबाट


  •  
  •  
  •