रुपन्देही, १० माघ : रुपन्देहीको रामापुर स्थित भँड्छा गाउँमा आयोजित १०७ औं माघे औंशी मेला एवं भँड्छा महोत्सव–२०७१ सम्पन्न भएको छ ।
विगत एक शताब्दी अघिदेखि निरन्तर रुपमा हरेक बर्ष आयोजना हुदै आएको सो ऐतिहासिक मेला स्थानीय कला र सँस्कृतिको संरक्षण र प्रचार–प्रसार गर्ने उद्धेश्यले आयोजना गरिएको हो ।
चार दिन चार रातसम्म लगातार रुपमा चल्ने मेलामा स्थानीय समुदायहरुका सांस्कृतिक कार्यक्रम प्रस्तुत, विभिन्न जातजाती भाषाभाषीका झाँकीहरू प्रदर्शन, परम्परागत उत्पादनको बिक्री वितरण, प्रथम भँडछा आइडल, विभिन्न सांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिताहरु संचालन गरिएको थियो ।
उक्त स्थानमा १ सय ७ बर्ष देखि संचालन हुदै आएको यो मेलामा माघे औँसीका दिन ऐतिहासिक र धार्मिक रूपले समेत महत्वपुर्ण मानिने मेला आयोजक समितिका संयोजक बुद्धिराम चौधरीले बताए ।
मेलामा रुपन्देही तथा कपिलवस्तु लगायतका विभिन्न जिल्लाबाट दैनिक हजारौँ मानिसहरु मेला भर्न आउने, सत्यनारायणको पुजाआजा गर्ने र स्थानिय कला संस्कृतीको अवलोकन गर्ने प्रचलन रहेको छ । यो परम्परा ऐतिहासिक रुपमा विगत १ सय ७ बर्षदेखि निरन्तर चल्दै आएको छ ।
मेलाको शुरुवात अर्थात उद्घाटन र समापन सधैं राति हुने परम्परा छ । महोत्सवको उद्घाटन थारु कल्याणकारी सभाका केन्द्रीय अध्यक्ष धनिराम चौधरीले गरेका थिए भने समापन लुम्बिनी पर्यटन प्रबर्द्धन समितिका अध्यक्ष तुल्सीप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो । समापन समारोहमा बोल्दै लुम्बिनी पर्यटन प्रबद्र्धन समितिका अध्यक्ष तुल्सीप्रसाद चौधरीले थारु समूदायको मौलिक संस्कृति संरक्षणको रुपमा रहेको यो मेलालाई निरन्तरता दिनुपर्ने र आगामी दिनमा मेलालाई पर्यटन प्रबर्द्धनसँगै जोडेर अगाडि लैजानुपर्ने बताए ।