काठमाडौं, असार १८ (ओएनएस) । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कर्मचारी नियुक्तीका लागि नयाँ व्यवस्था गरेको छ । बुधबार बैंक तथा वित्तीय संस्थालाई नयाँ निर्देशन दिँदै राष्ट्र बैंकले कर्मचारी नियुक्ती तथा योग्यता तोकेको समाचार हिमालय टाइम्समा छापिएको छ ।
बुधबारै जारी गरिएको नयाँ नमुना विनियमालीमा केन्द्रीय बैंकले कर्मचारीको नियुक्ती, प्रकार तथा सेवासुविधा तोकेको हो । नीतिअनुसार बैंकहरुले चार श्रेणीमा कर्मचारी नियुक्ती गर्नुपर्ने व्यवस्था गरिएको छ । व्यवस्थापकीय, अधिकृत, सहायक र सहयोगी कर्मचारीको रूपमा अब बैंकहरुले कर्मचारीको वर्गीकरण गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत, नायव कार्यकारी, वरिष्ठ प्रबन्धक, प्रबन्धक, सहायक प्रबन्धकलगायत कर्मचारी व्यवस्थापकीय, वरिष्ठ अधिकृत, अधिकृत र कनिष्ठ अधिकृत तथा व्यवस्थापन प्रशिक्षार्थी अधिकृत, वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक तथा सहायक प्रशिक्षार्थी साहायक तथा चालक, सञ्चारवहाक र सुरक्षा गार्डलाई सहयोगी श्रेणीको रूपमा वर्गीकरण गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।
कर्मचारीको योग्तामा व्यवस्थापकीयमा स्नातकोत्तर, अधिकृतमा स्नातक र सहायकले प्रमाणपत्र तह पास गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले विनियमावलीमा कर्मचारीको विभिन्न प्रकारमा वर्गीकरणको समेत व्यवस्था गरेको छ । स्थायी कर्मचारी, अस्थायी, परीक्षणकालीन, व्यवस्थापन प्रशिक्षार्थी तथा सहायक कर्मचारीको रूपमा कर्मचारीको प्रकार तोकिएको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाको कुनै पदमा करारमा काम लगाउन आवश्यक ठानेमा समितिको पूर्वस्वीकृति लिई कार्यकारी प्रमुखले निश्चित समयको लागि उपयुक्त व्यक्तिलाई नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ । यसैगरी कर्मचारी खुला प्रतिस्प्रर्धाबाट मात्रै नियुक्त गर्नुपर्ने व्यवस्थालाई पनि केन्द्रीय बैंकले निरन्तरता दिएको छ ।
केन्द्रीय बैंकले बुधबार तिन छुट्टा–छुट्टै विनियमावलीको नमुना जारी गरी बैंकहरुलाई सोही अनुसार काम कारबाही अगाडि बढाउन निर्देशन दिएको छ । केन्द्रीय बैंकले बुधबार कर्मचारी सेवा विनियमावली, कर्जा अपलेखन विनियमावली र आर्थिक प्रशासन विनियमावलीको नमुना सार्वजनिक गरेको हो । नमुनामा बैंकरलाई केही कडाइका साथ केही सुविधासमेत प्रदान गरिएको छ ।
कर्जा अपलेखन सम्बन्धी विनियमावलीमा राष्ट्र बैंकले खराब ऋण असल्नको लागि छुट्टै संयन्त्र गठन गर्नुपर्ने व्यवस्था गरेको छ । कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका ऋणीहरुको कर्जा अपलेखन गर्न पाउने व्यवस्थासहित केन्द्रीय बैंकले नयानँ विनियमावलीको सम्यौदा जारी गरेको हो । सत प्रतिशत नोक्शानी व्यवस्था गरेको ऋणलाई अपलेखन गर्न पाइने व्यवस्था विनियमावलीमा गरिएको छ ।
केन्द्रीय बैंकले यस्तो कर्जा अपलेखन गर्न प्रमुख कार्यकारीको नेतृत्वमा नायव प्रमुख कार्यकारी, कर्जा विभाग प्रमुख, कानुन विभाग प्रमुख सदस्य रहने उपसमिति गठन गर्नुपर्ने व्यवस्था पनि गरेको छ ।