बाबुरामको बाटो : नयाँ कि पूरानो ?

289
  •  
  •  
  •  

सुधीर शर्मा
काठमाडौ, वैशाख २७ – विराटनगरमा पार्टीको राष्ट्रिय सम्मेलन नसकिँदै असन्तुष्टि जनाएर मंगलबार अपराह्न राजधानी फर्केका एमाओवादी नेता बाबुराम भट्टराईको अनुहारमा चिन्ता या आवेशको कुनै लक्षण थिएन । लाग्थ्यो, विराटनगरको परिणति उनका निम्ति अपेक्षित नै थियो ।
विमानस्थलबाट सानेपा निवास पुग्नासाथ उनलाई हामीले सोध्यौं, ‘अब के गर्नुहुन्छ, नयाँ पार्टी बनाउने हो ?’ भट्टराईले ‘नयाँ ढंगको पार्टी’ बनाइनुपर्ने सैद्धान्तिक कुरामात्र गरे, आफू तत्काल ‘नयाँ पार्टी’ को पक्षमा नरहेको स्पष्ट पारे ।
फेरि सोधियो, ‘तपाईंले देशमा नयाँ राजनीतिक शक्तिको खाँचो छ भन्नु हुन्थ्यो नि त ?’ भट्टराईको भनाइ थियो, ‘मैले नयाँ पार्टी निर्माण गरौं भनेको यही पार्टीलाई रूपान्तरण गरौं भनेको हो ।’ तर बाहिर छरिएका विभिन्न शक्ति/व्यक्तिहरूलाई समेट्न आफ्नो पार्टीले पहल गर्नुपर्ने, त्यसो गर्न नसके ‘नयाँ शक्ति’ जन्मने कुरा दोहोर्‍याउन पनि चुकेनन् । किनभने यही अमूर्त ‘शक्ति’ उनको अहिलेको राजनीतिक अस्त्र हो ।
एमाओवादीका मुख्य नेताहरूमध्ये वामपन्थी वृत्तबाहिर, खासगरी सहरिया मध्यमवर्गमा समर्थन आधार बनाइराख्ने कुरामा सबभन्दा सचेत बाबुराम भट्टराई नै देखिन्छन् । विदेशी, खासगरी दक्षिण छिमेकको समर्थन पनि आफैंलाई कायम रहेकोमा उनी ढुक्क छन् । उनीसँग नभएको कुरा भनेको पार्टीको संगठनात्मक आधार हो, जुन मोर्चामा भट्टराई पछिल्लो समय खुम्चिँदै गएका छन् । उनका केही घनिष्ठ सहकर्मीले साथ छाडेका छन् । २०६१ सालमा पार्टीको कारबाहीमा
परेर भट्टराईसँगै छापामार घेरामा राखिएका दीनानाथ शर्मा तिनैमध्ये हुन् ।
‘नयाँ पार्टी बनाएर नेतृत्व नै गर्छु भन्ने आत्मविश्वास उहाँलाई छैन । उहाँले हामीसँगै कैयौं पटक भन्नुभएको छ, मेरो स्वभावका कारण पनि म फस्ट मेन हुन सक्दिनँ,’ केही वर्षदेखि संस्थापननिकट रहेका शर्माले भने, ‘अहिले उहाँलाई अध्यक्ष नै बन्ने महत्त्वाकांक्षा जागेको हो भने सीधै भन्नुपर्‍यो नि, मोही माग्ने ढुंग्रो लुकाउने काम किन गरेको ?’
भट्टराई त्यसरी सीधै पार्टी नेतृत्वको आकांक्षा राखिहाल्न चाहन्नन्, त्यसैले ‘नयाँ शक्ति’को नारा बिसाइहाल्ने पक्षमा पनि छैनन् । नेपाली समाजमा राजनीतिक महत्त्वाकांक्षा राखेका थुप्रै व्यक्तिहरूका निम्ति ‘नयाँ शक्ति’ एउटा आकर्षक नारा हो, जसलाई भट्टराईले राम्रोसँग ठम्याएको
देखिन्छ । विगतमा बुद्धिजीवी, सञ्चारजगत्, मध्यमवर्गलगायत बाहिरी वर्गको समर्थन जुटाएर पार्टीभित्र प्रभाव पार्न खप्पिस मानिन्थे भट्टराई । प्रधानमन्त्री बनेपछि टुटेको त्यो समर्थन आधार अहिले उनी जोड्न खोजिरहेका
छन् । चाहे नयाँ पार्टी बनाउन होस् या पुरानै पार्टीमा वर्चस्व बढाउन- दुवै काममा यो अस्त्र काम लाग्छ ।
‘तपाईंहरू भ्रममा नपर्नुहोला- बाबुरामजीले नयाँ शक्तिको कुरामात्र गर्ने हो, बनाउने होइन । पार्टीबाट अलग्गिने पनि होइन, पार्टीभित्रै बसेर नेतृत्व (प्रचण्ड) लाई कमजोर बनाइरहन खोज्ने हो,’ प्रचण्डनिकट एक नेताले दाबी गरे ।
भट्टराई पक्षधर नेताहरूचाहिँ आउँदो महाधिवेशनसम्म संस्थापनको व्यवहार हेर्ने मनस्थितिमा छन् । यसअघि हेटौंडा महाधिवेशनमा नसुल्झेको विवाद लिएर एमाओवादी नेताहरू विराटनगर सम्मेलनमा पुगेका थिए । अब फेरि महाधिवेशनको गोलचक्कर सुरु हुने देखिन्छ ।
सायद यो चक्कर भट्टराईका निम्ति नौलो होइन । त्यसैले उनी विराटनगरबाट काठमाडौं आएको भोलिपल्टै तिब्बततिर हान्निए सपरिवार । अहिले मानसरोवर जाँदै गरेका उनी फेरि पुरानै बाटो र्फकने छन्, कम्तीमा आउँदो महाधिवेशनसम्मका लागि ।
त्यतिञ्जेल उनका निम्ति नयाँ शक्तिको कुरा ‘प्लान बी’ का रूपमा रहनेछ । ‘यतिका वर्ष रगतपसिना बगाएको पार्टी छाडेर कहाँ अर्को बनाउनेतिर लाग्ने,’ भट्टराईले यसो भन्दाभन्दै पनि थपे, ‘तर हामी सच्चिएनौं भने नयाँ शक्तिको उदय त हुन्छ नै ।’अनि हामीले सोध्यौं, ‘तपाईं किन सधैं विद्रोहीजस्तो देखिनु हुन्छ ?’उनको भनाइ थियो, ‘सही हो, म पच्चीसौं वर्षदेखि नेतृत्वमा
रहेर पनि विद्रोहीको जस्तो भूमिका निर्वाह गरिरहेको छु । एउटा कम्युनिस्ट सधैं विद्रोही नै हुनुपर्छ भन्ने मलाई लाग्छ । मैले त्यही शैली पछ्याएको मात्र हो ।’
कान्तिपुर दैनिकबाट

  •  
  •  
  •