मधेस आन्दोलनलाई समर्थन गर्न बाबुराम जनकपुर जाने

471
  •  
  •  
  •  

baburamकाठमाडौ, ७ असोज(ओएनएस) : संविधानसभामा संविधान निर्माण प्रक्रिया अघि बढिरहँदा पार्टीभित्रका मधेसी, जनजाति नेताहरूलाई आन्दोलनमा जान निर्देशन दिने एमाओवादी नेता बाबुराम भट्टराई अब आफै आन्दोलनमा सहभागिता जनाउने तयारीमा लागेका छन् । यसैक्रममा उनी भोली जनकपुर जाँदैछन् ।

जनकपुरमा शुक्रबार आन्तरिक तयारी गरेर शनिबार पत्रकार सम्मेलन मार्फत आन्दोलनका समर्थन गर्ने कार्यक्रम बनाएका छन् । भट्टराईको जनकपुर भ्रमणको तयारीको लागि भन्दै उनका विश्वास पात्र गंगा श्रेष्ठ एमाओवादीका मधेशी नेताको टोली सहित बिहिबार नै जनकपुरतर्फ लाग्दैछन् ।

नेता भट्टराईले जनकपुर जानुका मुख्य दुई उदेश्य बनाएका छन् । पहिलो मधेशको आन्दोलनलाई समर्थन गरेको सन्देश दिनु र अर्को त्यहि समर्थनको आडमा एमाओवादीका नेताहरुको भेला गरेर उनीहरुलाई आफ्नो नेतृत्व स्विकार गरिदिन आग्रह गर्नु । त्यसको लागि पर्षा देखि सप्तरीसम्मका आठ जिल्लाका एमाओवादी जिल्ला स्तरका नेताहरूको भेला राखिएको छ ।

भट्टराई निकट केन्द्रीय सदस्य कुमार पौडेलले नयाँ ढंगले जाने भन्ने तयारी अनुसार नै भट्टराई जनकपुर जान लाग्नु भएको बताए । उनले भने, “अनुकुल हुँदा जनकपुरमा सभा गरिने छ, त्यसमा बाबुरामले सम्बोधन गर्नु हुनेछ ।”

पर्सादेखि सप्तसरीसम्मका आठ जिल्लाका एमाओवादी जिल्ला अध्यक्षहरु र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुसँग आन्दोलनको पक्षमा लाग्नेबारे छलफल गर्ने तयारी छ । ९ गते मधेस आन्दोलनप्रति समर्थन घोषणा गरेर १० गतेको केन्द्रीय बैठकका लागि बाबुराम काठमाडौँ फर्किनेछन् ।

स्रोतअनुसार, बाबुरामले पछिल्ला दिनमा पार्टी फुटाउनेबारे तयारी पनि तीब्र बनाएका छन् । १० गतेको केन्द्रीय कमिटी बैठकमा पनि उनले फरक मत प्रस्तुत गर्ने र अध्यक्ष पुष्पकमल दाहालप्रति असन्तुष्ट नेताहरुलाई आफ्नो पक्षमा पार्ने तयारी गरिरहेका छन् । अलग पार्टी खोल्ने तयारी गरिरहेका पार्टीभित्रका मधेसी नेताहरुको भेला बोलाई ४ असोजमा बाबुरामले उनीहरुका मागमा समर्थन जनाउँदै आफै नेतृत्व लिने प्रतिबद्धता जनाएका थिए ।

पार्टी फुटाउनका लागि बाबुरामले नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायतसँग पनि छलफल गरिरहेका छन् । अध्यक्ष दाहालप्रति असन्तुष्ट अन्य नेताहरु र आदिवासी जनजाति, मधेसी नेतालाई भेलापारी केन्द्रीय कमिटीमै अध्यक्ष दाहाल विरुद्ध बहुमत पुर्‍याउने, र आफू नेतृत्व लिने भन्दै उनले पार्टी भित्रका नेताहरुलाई आफ्नो पक्षमा पार्न लागेका छन् । तर, अध्यक्ष दाहाल पक्ष एक नेता भन्छन् “बाबुराम जीले पार्टी बनाएर गरिखाने भए अहिलेसम्म हामीसँग बस्नु हुँदैन थियो, एमाओवादीको मायाले होइन उहाँले नसकेर मात्रै हो प्रचण्डसँग बस्नु भएको ।”


  •  
  •  
  •