मधेसको आन्दोलनमा बाबुरामको समर्थन

372
  •  
  •  
  •  

baburam-bhattaraiकाठमाडौ, ७ असोज(ओएनएस) : एकीकृत नेकपा (माओवादी)का वरिष्ठ नेता डा. बाबुराम भट्टराईले तराई-मधेसमा भइरहेको आन्दोलनप्रति आफ्नो समर्थन रहेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री डा. भट्टराईले बिहिबार विज्ञप्ति जारी गर्दै एमाओवादीले संविधानसभामा प्रस्तुत गरेका भिन्न मत र असहमतिसँग आन्दोलनकारीहरूका मागहरू मिल्दाजुल्दा भएकाले आफ्नो समर्थन तथा ऐक्यबद्धता रहेको बताएका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो पार्टीले संविधानसभामा दर्ज गरेको भिन्न मत र असहमतिसँग आन्दोलनकारीहरुका धेरै मागहरु मिल्दाजुल्दा रहेकोले तीप्रति आफ्नो समर्थन र ऐक्यवद्धता व्यक्त गर्दछु ।’

विज्ञप्तिमा उनले विगतको जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, थरूहट आन्दोलन लगायतको जनताको संघर्षको क्रममा उठेका मुद्धाहरूलाई नयाँ संविधानमा पर्याप्त रूपले सम्बोधन गर्न नसक्नु र संविधान निर्माणको पूरै प्रक्रियामा सबै सरोकारवालाहरूलाई सहभागी गराउन नसक्नु आन्दोलनको प्रमुख कारण भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनमा थप जनधनको क्षति हुन नदिई सार्थक वार्ताको वातावरण बनाउन सरकारले तुरून्त तनाव शिथिलीकरणको पहल गरोस् र दुवै पक्षबाट शीघ्र वार्ता र संवादको थालनी होस् भन्ने म गम्भीर आग्रह गर्दछु ।’

संविधान कुनै ढुंगामा कुँदेको अक्षर नभएको भन्दै यसलाई आवश्यकता अनुसार परिर्माजन र संशोधन गर्न सकिने बताएका छन् । उनले भनेका छन्, ‘राजनीतिक समस्याको समाधान बल प्रयोग र दमनद्वारा कहिल्यै पनि भएको छैन् र अब पनि हुन सक्दैन । सानो घाउको उपचार बेलैमा नभएमा त्यो दुःसाध्य रोग बन्न सक्छ । आधा जनसंख्या बसोबास गर्ने तराई-मधेस जलिरहँदा पहाड-हिमाल चैनले सुत्न सक्दैन र हुँदैन ।’

विज्ञप्तिमा अगाडि भनेका छन्, ‘आफ्नो घरको समस्या समाधान गर्न नसकेर छिमेकी तान्ने वा तानिने परिस्थिति निर्माण गर्नु बुद्धीमानी र शोभनीय हुँदैन । छिमेकीले पनि अर्काको घर झगडामा अनावश्यक ढंगले हात हाल्नु उपयुक्त हुँदैन । घरभित्रको झगडा र असन्तोष निवारण गर्ने मुख्य जिम्मेवारी घरमुली र अभिभावकहरुको नै हुन्छ ।’

Press Statement BRB[Ashoj 7]

संम्बन्धित समाचार :

मधेस आन्दोलनलाई समर्थन गर्न बाबुराम जनकपुर जाने

विदेश यात्रा रोकेर पार्टी फुटाउने तयारीमा बाबुराम

एमाओवादीका प्रभु शाहसहित १४ मधेसी नेताको विद्रोह

बाबुरामको ‘दबाब’मा एमाओवादीको मधेसी मोर्चा आन्दोलनमा


  •  
  •  
  •