नयाँ पार्टी खोल्न भट्टराईको रिहर्सल

166
  •  
  •  
  •  

काठमाडौं १८ कात्तिक ।
नयाँ संविधान लागू भएलगत्तै एकीकृत माओवादी परित्याग गरी ‘नयाँ शक्ति’ संगठित गर्न सक्रिय नेता बाबुराम भट्टराईले पार्टी गठनको तयारी तीव्र पारेका छन्। भट्टराईले नयाँ शक्तिको रिहर्सलस्वरुप आन्तरिक जिम्मेवारीसमेत बाँडफाँट गर्न भ्याइसकेका छन्।

यही बेला एकीकृत नेकपा माओवादीमा स्थायी समिति सदस्य देवेन्द्र पौडेलसहित ४५ केन्द्रीय नेतृत्वले पार्टीमा लिखित असन्तुष्टि दर्ता गराएका छन्। भट्टराईले नयाँ पार्टी गठन गर्ने उद्देश्यसहित आफू निकट नेतासँग सोमबार सानेपास्थित निवासमा छलफल गरेका थिए । त्यसको भोलिपल्टै पार्टी मुख्यालय, पेरिसडाँडामा उक्त असहमति दर्ता भएको हो । पौडेलको नेतृत्वमा गएको टोलीले पार्टी मुख्य सचिव हितराज पाण्डेलाई असहमतिपत्र बुझाएको थियो ।

‘नयाँ शक्तिको बहसमा सहभागी हुन्छौं भनेर औपचारिक रुपमा मुख्य सचिवमार्फत पार्टीलाई जानकारी गराएका हौं,’ पौडेलले नागरिकसँग भने, ‘तर एमाओवादी पार्टी नै छाडेको भने होइन, त्यस्तो बहसमा भाग लिन्छौं मात्रै भनेका हौं।’

पार्टीबाट सामूहिक राजीनामा दिनुभएको हो भन्ने जिज्ञासामा पौडेलले असहमतिपत्रमा कहीँकतै पनि राजिनामा शब्द उल्लेख नगरेकाले यसलाई ‘सामूहिक राजीनामा’ भन्न नमिल्ने तर्क गरे।

पौडेलको नेतृत्वमा गएको टोलीले ‘हाम्रा असहमतिका विषयहरु’ शीर्षकमा बुझाइएको उक्त पत्रमा भट्टराईनिकट ४५ जना नेताले हस्ताक्षर गर्दै नयाँ शक्ति निर्माण अभियानमा लागेको जनाउ दिएका छन् । हाल नयाँ शक्ति निर्माण बहसमा लागेका भट्टराईले असोज ९ गते एमाओवादी पार्टी परित्याग घोषणा गरेका थिए।

आर्थिक समृद्धिका लागि भन्दै नयाँ पार्टी गठन गर्ने प्रयासस्वरुप नेता भट्टराईले हाल एमाओवादीमा रहेका आफूनिकट नेतालाई गोप्य रुपमा जिम्मेवारीसमेत बाँडफाँट गरिसकेका छन् । ‘संक्रमणकालीन कार्यविभाजन’ अनुसार आन्तरिक रुपमा जिम्मेवारी बाँडफाँट गर्ने कार्यसमेत सम्पन्न भएको छ,’ रामकुमार शर्माले नागरिकसँग भने, ‘मंसिर ४ मा राष्ट्रिय भेला बोलाएका छौं, त्यसमा देशभरबाट प्रतिनिधि काठमाडौं आउनेछन् ।’

शर्माका अनुसार नयाँ पार्टी गठन योजनाअनुसारै जिम्मेवारी पाइसकेका नेताहरुले आफ्नो कामकारबाही अघि बढाइसकेका छन्।शर्माका अनुसार हिसिला यमीलाई विदेश विभाग, प्रभु साहलाई व्यवस्थापिका संसद, खिमलाल देवकोटालाई केन्द्रीय कार्यालय प्रमुख र शर्मालाई जनवर्गीय संगठनको जिम्मेवारी तोकिसकिएको छ । यसैगरी, नयाँ संविधानले व्यवस्था गरेको प्रदेशअनुसार नै भट्टराईले प्रत्येक प्रदेशका प्रमुखको जिम्मेवारी पनि बाँडफाँट गरिसकेको छ।

जसअनुसार १ नम्बर प्रदेशमा हेमराज भण्डारी, २ नम्बर रामचन्द्र झा, ३ नम्बर गंगा श्रेष्ठ, ४ नम्बर देवेन्द्र पराजुली, ५ नम्बर वामदेव क्षेत्री, ६ नम्बर भक्तबहादुर शाही र ७ नम्बर तत्कालका लागि केन्द्रीय कार्यालयले हेर्ने गरी जिम्मेवारी बाँडफाँट गरिएको छ । कोटेश्वरमा रहेको झिल्को पत्रिकाको कार्यालयलाई भट्टराईले सम्पर्क कार्यालयका रुपमा प्रयोग गरिरहेको शर्माले जानकारी दिए ।

तर, मंगलबार भट्टराईको ‘नयाँ शक्ति’ मा सहभागिता जनाउन पार्टीमा असहमतिपत्र लैजाने नेताको सूचीमा भने एक जना पनि सांसद छैनन् । भट्टराईका निकै विश्वासिला टोपबहादुर रायमाझी, प्रभु साह र खगराज भट्टको नामसमेत उक्त नामावलीमा छैन । असहमतिमा हस्ताक्षर गर्नेमा केन्द्रीय नेता र केन्द्रीय सल्लाहकार मात्र छन् ।

असहमतिपत्रमा हस्ताक्षर गर्नेमा भट्टराई पत्नी हिसिला यमी, गंगा श्रेष्ठ, एमाले र तमलोपाबाट आएका क्रमशः रामचन्द्र झा र रामकुमार शर्मा, एकीकरणपछि आएका नवराज सुवेदी छन् । यसैगरी, साथी स्वनाम, रमेशरञ्जन झा, रामरिझन यादव, भीमप्रसाद गौतम, देवेन्द्र पराजुली, कल्पना धमला, खिमलाल देवकोटा, विष्णुहरि शर्मा, चिनक कुर्मी, महेन्द्र पासवान, कल्पना सुवेदी, बलावती शर्मा, महेन्द्र श्रेष्ठ, लीला भण्डारीलगायत ४५ नेताले पनि उक्त असहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

एमाओवादी क्रमशः एमालेकरण हँुदै गएको र नेतृत्वले त्यसतर्फ जान लागेको पार्टीलाई पनि रोक्न नसकेको असन्तुष्ट पक्षको आरोप छ । ‘सुधारिएको संसदीय व्यवस्थाको फेरोभित्र गोलचक्कर मार्ने कार्यनीतिले स्वतन्त्र वैकल्पिक राजनीतिक अस्तित्व समाप्त हुँदै गएकाले त्यस्तो विषयमा समर्थन जनाउन नसकिने’ उक्त समूहले मंगलबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसमक्ष आफ्नो धारणा पु¥याएका छन्।

‘बारम्बार विभिन्न रुपमा विषयहरु उठाउँदा र उठाउन खोज्दा पनि कुनै ध्यान नदिएकाले पार्टी निरन्तर विघटनको दुःखद चरणमा गएको अवस्थाप्रति मूकदर्शक भएर बस्न सकिँदैन,’ पत्रमा उल्लेख छ, ‘तसर्थ यस ऐतिहासिक संकटको बिन्दुबाट नयाँ वैकल्पिक शक्ति निर्माण अभियानमा लाग्नुको कर्तव्य ठान्दै त्यसको जानकारी गराँउदछौं ‘

अर्का नेता गंगानारायण श्रेष्ठले भने औपचारिक रुपमै जानकारी गराएर नयाँ शक्ति निर्माण दिशातर्फ आफ्नो समूह लागिसकेकाले त्यसमा अझै भ्रममा रहन नहुने बताए । ‘आज प्रस्ट रुपमा हामी ४५ जनाले नयाँ शक्ति निर्माणमा लाग्यौं भनेर जानकारी गराइसकेका छौं, अब हामी नयाँ शक्ति निर्माणमा लाग्नेछौं,’ श्रेष्ठले नागरिकसँग भने ।

माओवादीभित्र ‘सम्बन्धविच्छेद’ को औपचारिक घोषणा गर्न लागेको उक्त समूह बुधबारदेखि राष्ट्रिय भेलामा जुट्ने शर्माले जानकारी दिएका छन् । त्यसका लागि पार्टीभित्र र बाहिर दुवै शक्तिलाई नयाँ पार्टी गठन घोषणा हँुदासम्म समेट्ने योजना रहेको शर्माले जानकारी दिए ।

नागरिकबाट


  •  
  •  
  •